शनिश्चरे, मोरङ/असार १४ मा हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस झापाले जिल्लाका १५ वटै तहमा उम्मेदवारको टुंगो लगाएको छ । जिल्लामा वडाध्यक्ष, सदस्यका साथै गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको टुंगो लगाइसकेका जिल्ला सभापति उद्धव थापाले बताए । झापामा ८ नगरपालिका र ७ गाउँपालिकामध्ये पछिल्लो पटक कनकाई नगरपालिकाको उम्मेदवारको टुंगो लागेको हो । कन्काईमा प्रमुखमा एकराज उप्रेती र उपप्रमुखमा कविता वस्नेतको नाम टुंगो लागेको छ । नगरपालिकातर्फ, मेचीनगरको प्रमुखमा विमल आचार्य र उपप्रमुखमा दुर्गा खतिवडा, भद्रपुरको प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा तारा भुर्तेल, विर्तामोडको प्रमुखमा जलकुमार गुरुङ्ग र उपप्रमुखमा पार्वता गिरीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । त्यसैगरी, अर्जुनधारा नगरपालिकाको प्रमुखमा हेमराज खरेल र उपप्रमुखमा सरस्वती सिटौला, शिवसताक्षी नगरपालिकाको प्रमुखमा पर्शुराम ढुङ्गाना र उपप्रमुखमा जयकुमारी चेम्जोङलाई उम्मेदवार बनाउने निर्णय भएको छ । गौरादह नगरपालिकाको प्रमुखमा रोहित शाह र उपप्रमुखमा सुमित्रा खरेल, दमकको प्रमुखमा ढुण्डिराज भण्डारी र उपप्रमुखमा रेगिना भट्टराई ( प्रसाई )को नाम टुंगो लागेको छ । गाउँपालिकातर्फ,  झापाको अध्यक्षमा जयनारायण शाह र उपाध्यक्षमा बसुन्धरा थपलिया, गौरीगञ्जको अध्यक्षमा फुलमती राजवंशी र उपाध्यक्षमा  दिपेन्द्र थापा,  कमलको अध्यक्षमा हुकुमसिंह राई र उपाध्यक्षमा दीपा गौतमलाई पार्टीले उम्मेदवारका रुपमा खडा गरेको छ । बुद्धशान्तिको अध्यक्षमा रमेशकुमार भुजेल र उपाध्यक्षमा चन्द्रकला भट्टराई , हल्दीवारीको अध्यक्षमा दिलिप मावो र उपाध्यक्षमा चन्द्रकला राई , कचनकवलको अध्यक्षमा कलेन्द्रसिंह राजवंशी र उपाध्यक्षमा गीता खरेलको नाममा टुंगो लागेको छ ।  बाह्रदशीको अध्यक्षमा खड्ग राजवंशी र उपाध्यक्षमा रत्ना राजवंशीलाई उठाउने निर्णय भएको छ ।

आमा–छोरी नै उपप्रमुखका उम्मेदवार

झापामा आमा–छोरीले कांग्रेसबाट उपप्रमुखको उम्मेदवारीको अवसर पाएका छन् । पार्टीबाट भद्रपुर नगरपालिकामा आमा तारा भुर्तेल र मेचीनगर नगरपालिकामा छोरी दुर्गा भुर्तेल खतिवडाले उपप्रमुखको उम्मेदवारी पाएका हुन् । ७१ वर्षीया तारा पार्टीको महासमिति सदस्य हुन् । ०५४ को स्थानीय निर्वाचनमा भद्रपुरमा वडाध्यक्षका रुपमा उनी निर्वाचित भएकी थिइन् । त्यसैगरी, छोरी दुर्गा पनि नेपाली काँग्रेसकी महाधिवेशन प्रतिनिधि र नेपाल महिला सङ्घको क्षेत्र नम्बर १ को पूर्वसभापति हुन् । विभिन्न सङ्घसंस्थामा सक्रिय दुर्गाले राजनीतिमा लाग्ने प्रेरणा आमाबाटै पाएको बताइन् ।