सुकुम्बासीका बारेमा हचुवाका रुपमा नबोल्न आग्रह
शनिश्चरे /नेकपा एमालेका मोरंग जिल्ला कमिटी सचिवालय सदस्य दिलिपकुमार राई (किशोर) ले जिल्लाको पथरीशनिश्चरे नगर क्षेत्रको सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधानका नाममा हचुवाको भरमा चुनावी नारा बनाउन नहुने बताएका छन् ।
स्थानीय तहको निर्वाचनको माहौल बनेको अवस्थामा एमाले नगरको ९ नम्बर शाखा निर्वाचन सम्पर्क कार्यालयको विहिवार उद्घाटनका क्रममा पथरीशनिश्चरे नगरको प्रमुखका उम्मेदवार समेत रहेका राईले सो कुरा बताएका छन् । चुनावी भेलाबीच भएको कार्यक्रममा उनले घरघरमा धनीपूर्जा वितरण गर्ने भन्ने चुनावी मसला बनाएर भ्रम सिर्जना गर्नेहरुलाई चिन्नु पर्ने बताए ।
उनले सुकुम्बासी, अव्यवस्थित बसोबासको समस्या नगरको मुख्य समस्या भएपनि त्यसको गहिराईमा नपुगी विभिन्न वहानामा व्यक्ति स्वार्थको राजनीतिक चलखेल गरेर भ्रम सिर्जना गर्न नदिन स्थानीयलाई आग्रह समेत गरेका छन् । साथै उनले त्यस विषयमा एमालेले गहनढंगले अगाडि बढाएर समस्या समाधान गर्ने उल्लेख गरेका छन् ।
नगरका प्रमुखका उम्मेदवार राई र उपप्रमुखकी उम्मेदवार यमुना विष्टले कार्यालयको संयुक्तरुपमा उद्घाटन् गरेका थिए ।