पोखरा/पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष एवम् सदस्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको सभाकक्षमा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ र ३३ वटै वडाका अध्यक्षलाई मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । सोही अवसरमा महानगर प्रमुख जिसीले वडा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । कार्यक्रममा क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले प्राकृतिक रुपमा सुन्दर पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाउन नवनिर्वाचित जनप्रतिनिधिको भूमिका महत्वपूर्ण बन्ने बताए । नगर प्रमुख जिसीले महानगरलाई सुशासनयुक्त बनाउनेमा जोड दिँदै महानगरको विकासका लागि सम्बद्ध सबैको सहयोग आवश्यक हुने बताए । उनले महानगरभित्र महानगरपालिकाको तर्पmबाट सामाजिक सुरक्षा भत्तामा १० प्रतिशत वृद्धि गर्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र स्थानीय विकास अधिकारी बलराम ढकालको समेत उपस्थिति रहेको थियो । रासस