धरान/रेसुंगा नगरपालिका–८ मा बस्दै आएका २४ वर्षीय भरत नेपालीले गत जेठ २४ मा नजिकैको जंगलमा ९ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । जिल्ला प्रहरी कार्यालयले उनलाई तत्काल पक्राउ गरि अदालतमा पेश गरेको थियो ।
उनी अहिले पुर्पक्षका लागि जिल्ला कारागार गुल्मीमा छन् । जबर्जस्ती करणीको मुद्दामा कारागार चलान भएका नेपाली माथि जिल्ला अदालतले भर्खरै नौलो एउटा फैसला ग¥यो । पीडकको सम्पत्ती फेला नपरेपछि अदालतले सरकारी कार्यालयबाट क्षतिपूर्ति भराउने फैसला गरेको छ । नेपालीको अहिले कुनै पनि सम्पत्ती कतै नदेखिएपछि उसले तिर्नुपर्ने क्षतिपूर्ति रकम महिला तथा बालबालिका कार्यालय मार्फत उपलब्ध गराउने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले नेपालीलाई १० वर्ष कैद र एक लाख क्षतिपूर्तिको फैसला गरेको हो । ‘पीडकको नाममा कुनै पनि सम्पती फेला परेन, महिला तथा बालबालिका कार्यालयमा लेखी पठाई क्षतिपूर्ति व्यवस्था गर्न आदेश गरिएको हो, न्यायाधीश मरासेनीले भने ।’
लैगिंक समानता कायम गर्न बनेको संशोधित ऐन २०७२ अनुसार ‘कसुरदारको कुनै सम्पत्ति नदेखिएमा अदालतले महिला तथा बालबालिका कार्यालयबाट क्षतिपूर्तिस्वरूप उचित रकम पीडितलाई भराइदिन सक्ने गरी आदेश गर्न सक्ने र आदेश भएमा सो कार्यालयबाट तत्काल पीडितलाई उपलब्ध गराउनुपर्नेछ,’ भनी उल्लेख छ ।
महिला तथा बालबालिका कार्यालय प्रमुख प्रतिभा पन्थीले त्यस्तो आदेश र व्यवस्थाबारे कुनै जानकारी नै नभएको प्रतिक्रिया दिइन् । ‘मैले अहिलेसम्म नसुनेको नौलो जानकारी आयो,’ उनले भनिन्, ‘जानकारी आएपछि विभागमा बुझेर के गर्न सकिने हो गरौंला ।’ उनले कार्यालयमा हुने बालकल्याण कोष वा अन्य कुनै प्रक्रियाबाट रकम उपलब्ध गराउन सक्ने सम्भावना रहेको बताइन् ।
नयाँ पत्रिकाबाट