रसुवा/ गंगादशहरा मेला भर्न गएकी काठमाडौं नैकापकी ३५ वर्षकी रोजिना कार्कीको शुक्रबार बिहान गोसाइकुण्डमा डुबुल्की मार्दा ज्यान गएको छ ।
घटनाको जानकारी पाएलगत्तै नेपाली सेना र नेपाल प्रहरीको टोली उद्धारका सामाग्रीसहित गोसाइकुण्ड गएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले बताए । शुक्रबारदेखि गंगादशहरा मेला सुरु भएको हो । हरेक वर्ष जेष्ठ प्रतिपदादेखि दशमीसम्म लाग्ने गंगादशहरा मेला भर्नका लागि एक साता अघिदेखि नै तिर्थालु भक्तजन गोसाईकुण्ड जान थालेका छन् । मेला २१ गतेसम्म चल्ने गोसाईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिव डिएमले बताए । कुण्डमा स्नान गरी गोसाईवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनि हजारौँ हजार भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दछन् ।
                    
        
                                        
                                                                                                
        































