अबिर, फूलमाला बोकेर धिमे बाजा सहित सूर्यविनायक नगरपालिकाको मतगणना स्थलबाटै विजय र्याली गर्न गएका एमालेका उम्मेदवार र कार्यकर्ता निराश भएर फर्किएका छन् ।
आज १२ बजे भित्र सूर्यविनायक नगरपालिका वडा नं. १ को मत परिणाम घोषणा हुन्छ र एमालेको प्यानल नै विजयी हुन्छ भनेर सिरुटारबाटै नारावाजी गर्दै चारवटा गाडीमा मतगणना स्थलमा विहान १० बजे पुगेका सयौ कार्यकर्ता मत परिणाम घोषणा नभए पछि ५ बजे निराश भएर फर्किएका हुन् । सूर्यविनायक नगरपालिका वडा नं. १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थ सहितको प्यानल विजयी भएको हो । एमालेका कायस्थले १ हजार ६४७ मत ल्याई अध्यक्षमा विजयी हुन् भने उहाँका निकटतम प्रतिद्धन्द्धी राप्रपाका भुपेन्द्र राउत ८४७ मत ल्याएका छन् । त्यसैगरि एमालेका उम्मेदवारहरु महिला सदस्यमा अम्बिका न्यौपाने, दलित महिला सदस्यमा कल्पना नेपाली, अर्का सदस्यमा प्रदिप कार्की र बाबुकाजी श्रेष्ठ विजयी भएका छन् । तर अन्तिम मत परिणम सार्वजनिक गर्ने तयारी गर्दा २०० मतको हिसाब नमिले पछि विवाद सृजना भएकाले मत परिणाम सार्वजनिक गर्ने कार्य रोकियो । अन्तिम मत परिणाम आउने आशामा बस्दै गर्दा उम्मेदवारहरुले अबिर दलेर नाचगान गरेर दिनभर विताए पनि विवाद भएपछि उनीहरु विजयी र्याली नगरी फर्किएका छन् । ‘विजय र्याली मनाउन बाजागाजा लिएर आयौ, दिनभर नाचगान गर्यौ तर अन्तिम मत परिणाम सार्वजनिक नगरी विवाद भएपछि यत्तिकै निराश भएर फर्किनु पर्दा दुःख लागिरहेको छ’–सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारका श्याम श्रेष्ठले भन्नुभयो । एमालेले आफ्नो दुईसय मत गायब भएको जिकिर गर्दै नगर प्रमुख र उपप्रमुखमा पुन ः मतगणना गर्नुपर्ने माग राखेर अडान लिएको छ भने नेपाली काँग्रेसले पुन मतगणना गर्नुनपर्ने बताए पछि राती पौने सातबजे प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, मुख्य निर्वाचन अधिकृत, प्रहरी, सर्वदलीय संयन्त्र लगायतको बैठक सुरु भएको छ । कूल ३ हजार ९३९ मत खसेको वडा नं. १ मा मेयरमा नेकपा एमालेको १ हजार ५६९, नेपाली काँग्रेसको १ हजार ३४५ मत खसेको खसेको थियो । मतगणना गर्दा बदर मत स्पष्टसंग गणनामा नराख्दा समस्या परेको हो । विवादित विषयमा के गर्ने भन्नेबारेमा निर्णय नहुँदा अन्यौल भएको छ ।