धरान/अनैतिक सम्बन्धबाट जन्मिएको शिशुलाई सालको पातले छोपेर भाग्दै गरेको अवस्थामा धरान प्रहरीले महिलालाई पक्राउ गरेको छ ।

शिशुको जन्म दिएपछि पातले छोपेर करिव ढेड किलोमिटर अघि बढिसकेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । ती महिलाले आइतबार बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाताको निर्वाणा कन्ट्री क्लव एण्ड गल्फ कोर्षको दक्षिण पश्चिम तर्फ शिशुलाई जन्माएर फालेकी थिइन् ।
उक्त शिशु रोएको सुनेपछि गल्फ कोर्षमा गल्फ खेलिरहेका खेलाडीहरुले प्रहरीलाई खबर गरेर प्रतिष्ठानको ‘बच्चा विभागको आकस्मिक कक्ष’ मा पु¥याएका थिए । शिशुको आकस्मिक कक्षमै उपचार भइरहेको छ । भोजपुर ठूलोभुल्के–६ घर भई हाल धरान–१९ जिमी चोकमा बस्दै आएकी राई थरकी महिला हुन् । उनको चारवर्ष अघि नै श्रीमानको निधन भएको प्रहरीले बताएको छ ।
उनलाई गल्फ कोर्षमो पूर्व तर्फको गेट नजिकै प्रहरीले पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेकी उनलाई प्रतिष्ठानको प्रशुति विभागको आकस्मिक कक्षमा इलाका प्रहरी कार्यालयका प्रहरीहरुको निगरानीमा उपचार भइरहेको छ । उनले शिशुको आइतबार नै जन्म दिएकी थिइन् । उपचारमा रहेकाले हाल उनलाई बुझ्ने काम नभएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।