पुरानो वर्ष विदा भएर आजदेखि विक्रमको नववर्ष प्रारम्भ भएको छ । २०७३ साल राजनीतिक रूपमा त्यति सफल नभए पनि ऊर्जाको क्षेत्रमा भने यसले नयाँ आशा सञ्चार गरेको छ । गत वर्ष यसै बेला १८ घण्टासम्म अँध्यारोमा बसेका जनता अहिले चौबीसै घण्टा उज्यालोमा छन् । राजनीति भने अहिले पनि अँध्यारोमै छ । सरकारले संविधान संशोधनसम्बन्धी अघिल्लो विधेयक फिर्ता लिएर यससम्बन्धी नयाँ प्रस्ताव विधेयक संसद्मा दर्ता गरे पनि राजनीतिक गतिरोध भने जहाँको त्यहीँ छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले नयाँ विधेयकलाई पनि अस्वीकार गर्दै स्थानीय तहको निर्वाचन बहिष्कारसहित आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आप्mना माग पूरा नभएसम्म निर्वाचनमा भाग नलिने मोर्चाको निर्णय छ । सत्तारुढ दलका नेताहरुले मधेशी मोर्चासहितको संलग्नतामा स्थानीय निर्वाचन तोकिएकै मितिमा हुने जिकीर गरिरहे पनि परिस्थिति भने झन्–झन् बिग्रिँदै गएको देखिन्छ । निर्वाचन आयोगका प्रमुख आयुक्तले भने सुरक्षा फौज परिचालन गरेरै भए पनि मधेशमा तोकिएकै मितिमा निर्वाचन गराउने अडान व्यक्त गरेका छन् । यसले द्वन्द्वलाई अझ चर्काउने परिस्थिति सिर्जना हुने देखिन्छ । मधेशमा अहिले वैधानिक दलहरुबाहेक परिस्थितिको फाइदा लुट्न अन्य विभिन्न शक्तिहरु मौका कुरेर बसेका छन् । मधेशमा हुने अस्थिरता र द्वन्द्वको रापमा आप्mनो स्वार्थको रोटी सेक्न तत्पर तत्वहरु यस्तै परिस्थितिको प्रतीक्षामा छन् । यसतर्पm सबैको ध्यान जानु आवश्यक छ । संविधान भनेको तत्कालीन राजनीतिक शक्तिहरुको सहमतिको दस्तावेज हो । कुनै पनि एउटा शक्तिले आपूmले भनेकै सबै कुरा संविधानमा समेटिनुपर्छ भन्ने हठ लिनु हुँदैन । यसका लागि कि त निर्वाचनबाट बहुमत प्राप्त गर्नुपर्छ कि अन्य माध्यमबाट राज्यसत्तामा कब्जा गरेको हुनुपर्छ । अहिले यी दुवै परिस्थिति छैनन् । कुनै पनि दल वा शक्ति बहुमतमा नभएको अवस्थामा संविधान एकलौटी हुँदैन । मधेशी मोर्चालगायत सबै शक्तिले यो यथार्थलाई आत्मसात् गर्न सक्नुपर्छ । यसका साथै एउटा पक्षलाई पेलेर भित्तामै पु¥याउने भूल गर्नु पनि देशको भविष्यका लागि उचित देखिँदैन । यसले नागरिकहरुबीच भावनात्मक दुरी बढाउँछ र देशलाई अन्त्यहीन द्वन्द्वमा फँसाउने जोखिम बढाउँछ । यस विषयमा सबै राजनीतिक शक्तिहरुका साथै राज्यका निकायहरु गम्भीर हुनु आवश्यक छ । यो देशको भविष्यसँग जोडिएको संवेदनशील विषय भएको हुँदा यसलाई बेवास्ता गर्नु देशकै लगि प्रत्युत्पादक हुनसक्छ । संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक छ । निर्वाचनका लागि स्वतन्त्र र भयरहित वातावरण बनाउने दायित्व सबै राजनीतिक शक्तिको हो । यसमा सबै जिम्मेवार हुनुपर्छ । निकासविहीन बनाएर एउटै हठमा राजनीतिलाई सधैँभरि अल्झाइरहनु कसैका हितमा हुने छैन । नववर्ष २०७४ को अवसरमा सबैमा यही सद्बुद्धि प्राप्त होस् भन्ने हार्दिक शुभकामना !