सुख्खा मौसम शुरु भएको छ । हावाहुरीको मौसममा आगलागीका घटना बढी हुने गर्दछन् । यस्तो बेलामा सरोकारवाला तथा स्थानीय बेलैमा सचेत भएनन् भने आगलागीबाट आर्थिक क्षतिमात्र होइन, मानवीय क्षतिसमेत हुने जोखिम हुन्छ ।

सुख्खा मौसम शुरु हुनुअघि नै सचेतना अभियान चलाउनुपर्ने हो तर यस्तो पहल कतैबाट हुन सकेको छैन ।सिरहाको दक्षिणी क्षेत्रमा पर्ने सखुवा नन्कारकट्टी गाउँपालिका–४ मा सोमबार बेलुका आगलागीले २९ घर–परिवारको दलित बस्ती जलेर सखाप भयो । केही दिनअघि सुनसरीको प्रकाशपुरमा ११ परिवारका २७ घर जलेर नष्ट भए । आगलागीका घटना दिनदिनै बढेर गएका छन् ।

सिरहामा भएको आगलागीले दलित परिवारको बिचल्ली भएको छ । आगलागी पीडितलाई राज्यले उचित व्यवस्थापन गर्नुपर्दछ । सधैँ पीडामा जीवन बिताउने मुसहर परिवारमा प्राकृतिक प्रकोपले गर्ने क्षतिले उनीहरुलाई झन् पीडा थपिदिएको हुन्छ । राज्यले यस्ता परिवारका लागि तत्काल गाँस र वासको व्यवस्थापन गर्नुपर्दछ ।

विकसित मुलुकमा आगलागी, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप नियन्त्रण तथा न्यूनीकरणका लागि राज्यले पूर्वाधार तथा सचेतना कार्यक्रम गर्ने गरिन्छ । तर नेपालमा यस्तो प्रकोप नियन्त्रण गर्नका लागि खासै पहलकदमी गरेको पाइँदैन ।

जब प्रकोपबाट क्षति हुन्छ अनि मात्र सरकारको ध्यान पुग्ने रोग कायमै छ । भनिन्छ– रोगको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमता हो तर सरकारले यसमा ध्यान दिएको पाइँदैन ।

सरकारलाई थाहा छ, हिउँदको समयमा आगलागी, वर्षायाममा बाढी–पहिरोको जोखिम सधैँ हुन्छ तर राज्यले कुनै योजना नबनाउनु विडम्बना हो ।

समस्या आएपछि मात्र उपाय खोज्ने प्रवृत्तिले प्राकृतिक प्रकोपबाट ठूलो जनधनको क्षति हुने गरेको छ । राज्य आप्mना नागरिकको सुरक्षाका लागि बेलैमा सचेत हुनुपर्दछ । प्रकोपबारे जनचेतना पैmलाउनुपर्छ । स्थानीय स्वयम् प्रकोपबाट जोगिन सावधानी अपनाउनु वाञ्छनीय हुनेछ ।