कुनै पनि निकाय÷संस्थाको मर्यादाक्रम त्यस संस्था वा निकायमा प्रवेशको क्रममा नै छिनोफानो हुने गर्छ । तर पुष्पकलम दाहाल ‘प्रचण्ड’ को मन्त्रिपरिषद्मा दुई उपप्रधानमन्त्रीको मर्यादाक्रम निक्र्योल नहुँदा मन्त्रिपरिषद् नै अनिर्णयको बन्दी बनेको छ । उपप्रधानमन्त्रीका रूपमा राप्रपा अध्यक्ष कमल थापाको सत्तारोहणसँगै उनी र अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिबीच उत्पन्न मर्यादाक्रम विवाद यति बेला सडकमा पुगेको छ । सत्तामा सहभागी हुनुअघि नै टुङ्गो लाग्नुपर्ने विषय लामो समयदेखि अनिर्णीत हुनु किमार्थ राम्रो होइन । यो एउटा लज्जास्पद विषय हो । यस्तो परिस्थिति आउनुमा सत्तासाझेदार दलहरु जिम्मेवार छन् । सत्ताको नेतृत्व गर्ने प्रधानमन्त्री प्रचण्ड यसका मुख्य जिम्मेवार हुन् । एक महिनादेखि विवाद हुनु र मन्त्रिपरिषद्को विवाद सार्वजनिक कार्यक्रममा समेत छताछुल्न हुनु लाजमर्दो कुरा हो । सत्तासाझेदार दलहरुलाई यसको हेक्का हुनुपर्छ । को ठूलो भन्ने विषय यति बेला सडकमा पोखिएको छ । यही विवादले प्रम चीन भ्रमण जाँदा प्रमको कार्यभारसमेत कुनै उपप्रधानमन्त्रीलाई दिइएन । तीन सातादेखि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । महत्वपूर्ण निर्णयहरु थाँती रहेका छन् । प्रम प्रचण्ड यस विषयमा गम्भीर नभएको प्रष्ट देखिन्छ । यसले उनीमाथि नैतिकताको प्रश्नसमेत उठेको छ । संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन तयारीमा मुलुक होमिनुपर्ने बेला मन्त्रिपरिषद् नै विवादमा अल्झिनु राम्रो होइन । मन्त्रिपरिषद् बैठक नहुँदा स्थानीय तह सञ्चालन विधेयक, नेपाल प्रहरीमा महानिरीक्षक नियुक्तिलगायतका विषय ओझेलमा परेका छन् । निर्वाचनको समय आउन अब एक महिना पनि छैन । यस्तो अवस्थामा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी बोकेको नेपाल प्रहरी निमित्त प्रमुखको भरमा चल्नु विडम्बना हो । त्यो पनि प्राविधिक पृष्ठभूमिका निमित्त प्रमुखबाट निर्वाचन सुरक्षा योजना तथा कार्यान्वयनको आशा गर्न सकिँदैन । नियुक्ति गर्ने बेलाका शर्त र सम्झौता एउटा विषय होला तर यसलाई समाधान गर्ने जिम्मेवारी प्रधानमन्त्रीको हो । लामो समयसम्म विवाद कायम राख्नु प्रमको व्यवस्थापकीय कार्यकुशलतामा प्रश्न हो । उनले समस्या सुल्झाउन गम्भीर भएरलाग्नुपर्छ । मन्त्रिपरिषद् भनेको राज्य सञ्चालन गर्ने निकाय हो । यस्तो निकायलाई सीमित व्यक्तिको स्वार्थमा अनिर्णयको बन्दी बनाएर राख्नु हुँदैन । सम्बन्धित दलहरुबीच छलफल गरेर यस विषयलाई सल्टाउनु प्रम प्रचण्डको बुद्धिमता हुने छ ।