इटहरी / इटहरी–४ मा पत्नीले चिर्पट प्रहार गरी पतिको हत्या गरेकी छिन् । सोमबार बिहान इटहरी–४ बस्ने बिन्दा चौधरीले मदिरा सेवनको क्रममा झगडा हुँदा पति उत्तम पराजुलीलाई चिर्पटले टाउकोमा प्रहार गर्दा उनी घाइते भएको प्रहरीले जनाएको छ । घटना सोमबारकै भएपनि प्रहरीले मङ्गलबार अनुसन्धान गरेको थियो । प्रहरीको सोधपुछपछि पत्नी चौधरीले पतिलाई चिर्पट हानेको भनी स्वीकार गरेको इलाका प्रहरी कार्यालयका डिएसपी नरेशराज सुवेदीले बताए । घाइते पराजुलीलाई उपचारको लागि लैजाने क्रममा मृत्यु भएको इप्रकाले जनाएको छ । इटहरी–५ घर भएका ३० वर्षीय उत्तम पहिलो श्रीमतीसँग सम्बन्ध राम्रो नभएपछि बिन्दालाई श्रीमती बनाएर इटहरी–४ मा बस्दैआएको खुलेको छ । यता, बिगत १० वर्षदेखि पतिसँग अलग रहेकी बिन्दा पनि गत कार्तिकमा उत्तमसँग बिवाह गरी सँगै बस्दै आएकी थिइन् । उत्तमकी पहिलो पत्नी वैदेशिक रोजगारीमा गएको र पराजुली परिवारसँग सम्पर्कविहीन रहेको खुलेको छ । उत्तमको मृत्यु भएपछि मात्रै घरपरिवारले थाहा पाएको इलाका प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालयले ४० वर्षीया बिन्दालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।