पूर्वका अधिकांश शहरमा सिटी सफारी समस्या बनेका छन् । अव्यवस्थित सिटी सफारीले सडक व्यवस्थापनमा कठिनाइ सिर्जना गर्दा दुर्घटनाको जोखिम बढ्दो छ । पूर्वका मुख्य शहरहरुमा जताततै सिटी सफारीको घुइँचो देखिन्छ । अनियन्त्रित रुपमा जताततै कुद्ने सिटी सफारीले सवारी–यात्रा मात्र होइन, पैदल–यात्रालाई पनि जोखिमपूर्ण बनाइदिएको छ । कतिपय स्थानमा अव्यवस्थित सिटी सफारीकै कारण दुर्घटनाहरु भएका छन् । धरानमा पनि सफारीका कारण सडक–असुरक्षा बढ्दो छ । त्यसो त यो समस्या धरानको मात्र होइन । अव्यवस्थित सफारी पूर्वका अधिकांश मुख्य शहरको साझा समस्याको रुपमा देखिएको छ । आवश्यकताभन्दा बढी सफारी भित्रिनु यसको एउटा मुख्य कारण हो । सडकको क्षमताभन्दा बढी सफारी भित्रिएर सडक व्यवस्थापनमा समस्या देखिएको हो । सामान्य ट्राफिक नियमको समेत ज्ञान नभएकाहरुले सफारी चलाउन थालेपछि समस्या देखिन थालेको हो । शहरका हरेक चोक र गल्लीमा सफारी चाप अत्यधिक भएर अन्य सवारी वा पैदल यात्रुलाई आवागमनमा असहज हुन थालेको छ । नियमनकारी निकायले शुरुमै नियन्त्रणमा बेवास्ता गर्दा समस्या झाङ्गिएको हो । न दर्ता गर्नुपर्ने न चालक अनुमतिपत्र (लाइसेन्स) चाहिने सहजताले पनि सफारीको चाप बढेको हो र यही सहजताले जोखिम पनि बढाएको हो । शुरुमा छुट भएकै कारणले अत्यधिक सफारी भित्रिएका हुन् । सम्बन्धित निकायहरुले पहिले नै ध्यान दिएका भए यो अवस्था आउने थिएन । अहिले यसलाई नियन्त्रण गर्न ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयलाई पनि समस्या भएको छ । कतिपय सफारी चालकहरु लागूऔषध र हतियार ओसार–पसारमा पनि संलग्न भएका समाचारहरु आउन थालेका छन् । यसतर्पm पनि प्रहरी–प्रशासनको ध्यान जानु आवश्यक छ । अब पनि सफारीलाई व्यवस्थित नगर्ने हो भने सडक–जोखिम अझ बढ्दै जाने निश्चित छ । त्यसकारण नियमनकारी निकायहरुले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।