चक्रघट्टी/ सुनसरीको भरौल कालाबञ्जार बजारमा रहेको कोमल साना किसान कृषि सहकारीको २ थान ल्यापटप र क्यामरा तथा रेसिका कोल्ड स्टोरको नगद १ लाख ५० हजार चोरी भएको छ ।
घरको भेन्टिलेसन तोडेर भित्र छिरेको चोरले पसलको गल्लामा रहेको नगद र केही सामान लिएर भागेको कोल्डस्टोरका प्रोप्राइटर रमेश बिष्टले बताए । चोरले चोरेर भाग्ने क्रममा आफुले लगाएको चप्पल पसल अगाडि नै छाडेको छ । कोमल साना किसानको अफिसको ताला फुटाएर भित्र पसेको चोरले ल्यापटप लिएर भाग्ने क्रममा अफिसभित्र रहेको साइकल पनि लिएर भागेको छ ।
चोरको खोजी गर्न हिँडेका स्थानीयबासी र प्रहरी चौकी कालाबञ्जारको संयुक्त टोलीले चोरी भएको साइकल र ल्यापटप छोपेको कपडा बीचपानीमा फेला पारेको स्थानीय टेकबहादुर गौतमले जानकारी दिए । कालाबञ्जार बजारमा यस्ता प्रकृतिका घटना पटक–पटक घटिरहेको हुँदा यहाँको सुरक्षा व्यवस्था कडा नरहेको स्थानीयबासीको गुनासो छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र शान्ति सुरक्षा कडा पारिएको इलाका प्रहरीका इन्स्पेक्टर गंगा पौडेलले बताए ।