देशमा स्थानीय शासनको नयाँ अध्याय शुरु भएको छ । फागुन २७ गते नवनियुक्त स्थानीय विकास मन्त्री कमल थापाले पुरानो स्थानीय निकाय भङ्ग गरी नयाँ संरचनामा स्थानीय तह सञ्चालन हुने गरी घोषणा गरेपछि बुधबारदेखि देशभर औपचारिक रुपमा गाउँपालिका तथा नगरपालिकाहरुमा नयाँ संरचनाअनुसार काम शुरु भएको छ ।

नेपालले ५५ वर्षपछि स्थानीय निकायमा नयाँ संरचना पाएको छ । गाउँपालिकामा शाखा अधिकृत र नगरपालिकाहरुमा उपसचिव स्तरका कर्मचारीहरुलाई कार्यकारी बनाएर पठाइएको छ । देशैभर सात सय ४४ वटा स्थानीय तह गठन भएका छन् । केन्द्रीकृत राज्य प्रणाली भोग्दै आएका नेपाली जनतालाई अबको नयाँ पुनर्संरचनाबाट राहत पुग्ने आशा गर्न सकिन्छ । यसलाई प्रधानमन्त्री प्रचण्डले ‘नेपालमा स्थानीय शासनको इतिहासमा नयाँ अध्याय’ शुरु भएको बताएका छन् ।

काठमाडौँ महानगरपालिकाको नयाँ संरचना उद्घाटन गर्दै उनले यो थालनीलाई ‘क्रान्तिकारी परिवर्तन’ को संज्ञा दिए । निश्चय नै, सिंहदरबारमा निहित कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र स्रोत–साधनलाई पहिलोचोटि गाउँ–गाउँसम्म पु¥याउने गरी स्थानीय तहलाई अधिकारसम्पन्न बनाइएको छ । दुई दशक स्थानीय जनप्रतिनिधि नहुँदा पीडा भोगेका स्थानीय जनताले अबको पुनर्संरचनाबाट राहत पाउने महसुस गरेका छन् ।

अञ्चल, क्षेत्रीय सदरमुकाम र खासगरी काठमाडौँबाट हुँदै आएका थुपै्र काम, कारवाही र सेवाको वितरण अब सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाटै हुनेछन् । यसकारण पनि यो कामलाई प्रचण्डले ‘क्रान्तिकारी परिवर्तन’ भनेका हुन् । स्थानीय तहको पुनर्संरचना र कार्य प्रारम्भले गणतन्त्रको उज्यालो घामको अनुभूति जनताले गर्न पाउने छन् । घोषणाले मात्र हुँदैन ।

कार्यान्वयन पक्ष प्रभावकारी भएन भने ‘क्रान्तिकारी परिवर्तन’ घोषणामा मात्र सीमित हुने छ । यो संविधान कार्यान्वयनको थालनी पनि हो । सबैको सहकार्य र एकताबाट यो ऐतिहासिक फड्कोलाई ग्रहण गर्न सक्नुपर्छ । भर्खरै घोषित नगरपालिका र गाउँपालिकामा अब जनप्रतिनिधिको खाँचो छ ।

जनताको उज्यालो भविष्य निर्माणका लागि जनप्रतिनिधि आवश्यक छ । त्यो परिपूर्ति गर्न स्थानीय तहको निर्वाचनको विकल्प छैन । अब सबैको ध्यान निर्वाचनमा जानुपर्छ ।

स्थानीय तहको निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवको रुपमा मनाउन सबै राजनीतिक दलहरु तयार हुनुपर्ने बेला आएको छ । २० वर्षपछि गुणात्मक उपलब्धिसहित हुन लागेको परिवर्तनलाई संस्थागत गर्नु सबै राजनीतिक दलहरुको दायित्व हो ।