बागलुङ । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका रिता नेपालीले आफ्नै देवर २५ वर्षीय विनोद हरिजनको हत्या गरेको खुलेको छ । ‘आत्महत्या’ भनेर ढाकछोप गर्न खोजे पनि रिताले सहयोगीमार्फत देवरको हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घटनाका दोषी २६ वर्षीया रिता र ३२ वर्षीय टेकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार राति रिता र टेकबहादुर मिलेर विनोदको घाँटी थिची हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्र कुवेर खापुङले बताए । यौन सम्बन्ध राख्दै आएका भाउजू र देवरबीचको झगडाले हत्याको रुप लिएको हो ।
‘झगडा बढ्दै गएपछि रिताले टेकबहादुरलाई घरमै बोलाइ दुवैजना मिलेर विनोदको हत्या गरेको पाइएको छ,’ खापुङले भने । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्यापछि ‘आत्महत्या’ भनि देखाउन विनोदको शव रिताकै कोठामा पटुकीको सहायताले झुन्डाइएको थियो ।
शव र घटनास्थलको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । रिताले देवरसँग यौन सम्बन्ध राख्दै आएको प्रहरीसामु स्वीकारेकी छिन् । हत्यामा संलग्न टेकबहादुर र रिताबीच समेत अनुचित सम्बन्ध रहेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
रिताका श्रीमान् विगत चार वर्षदेखि रोजगारीका क्रममा मलेसियामा छन् । टेकबहादुरकी श्रीमती समेत मलेसियामै रहेकी छन् । रासस