भक्तपुर /भक्तपुरस्थित सानोठिमी क्याम्पस प्रमुखको कार्यकक्षमा गएराति आगजनी भएको छ ।

आगलागीबाट महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएका छन् । राजधानीसहित देशका विभिन्न क्याम्पसमा स्ववियू निर्वाचन प्रभावित भएको भएपनि उक्त क्याम्पसमा भने बुधबार निर्वाचन हुँदैछ ।

आगलागी भएपनि निर्वाचनसँग सम्वन्धित सबै कागजात सुरक्षित रहेकाले भोलिको स्ववियु चुनाव नरोकिने क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले जानकारी दिए ।

आगलागी कसरी भयो भन्ने अहिलेसम्म खुल्न नसकेको भएपनि विद्यार्थी संगठनहरुले एक अर्कालाई घटनामा दोषी देखाउन खोजेका छन् । सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी (प्रचण्ड) र नेविसंघले संयुक्त प्यानल बनाएको छ ।

यसैगरी एमाले निकट अनेरास्ववियु र अखिल क्रान्तिकारी (विप्लव)ले संयुक्त गठवन्धन बनाएको छ ।

आफू हार्ने निश्चित भएपछि अनेरास्ववियु र विप्लव निकट क्रान्तिकारीले गएराति क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको अखिल क्रान्तिकारी (प्रचण्ड)का केन्द्रिय सदस्य रामप्रसाद ढकालले आरोप लगाए ।

तर, एमाले भक्तपुरका प्रचार विभाग प्रमुख श्याम सुन्दर बस्नेतले अनेरास्ववियु र सिंगो एमालेको बदनाम गर्न खोजिएको भन्दै उक्त आरोपको खण्डन गरे ।

यता महानगरिय प्रहरीले वृत ठिमीका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले आगो लागेको हो वा लगाइएको भन्नेबारेमा बारेमा अनुसन्धान भइरहेको बताए ।