सुनसरी/ घरमा कामदारका रूपमा राखिएकी ३५ वर्षीया पवित्रा विष्टको हत्यामा मनास्लु बोर्डिङका प्रिन्सिपल शंकर थापा दोषी नभएको जिकीर गर्दै दुहबीवासीले गम्भीर अनुसन्धान गर्न माग गरेका छन् ।

हत्यामा अरु कसैको संलग्नता हुन सक्ने भन्दै उनीहरूले निर्दोष मानिसलाई फँसाउन खोजिएको बताएका छन् । दुहबी नागरिक समाजले विष्ट हत्या प्रकरणमा थापा निर्दोष भएको दावी गर्दै सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । यही पुस १४ गते बिहान भएको विष्टको हत्या प्रिन्सिपल थापाले नै गरेको भन्दै विभिन्न प्रमाणका आधारमा प्रहरीले थापाविरुद्ध मुद्दा चलाएर म्याद पनि थप भइसकेको छ । स्कुल हाताभित्रै रहेको प्रिन्सिपलको घरमा काम गर्ने ती महिला मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको प्रकृति र आरोपीको बयानका आधारमा थापालाई पक्राउ गरेको दावी प्रहरीको छ ।

थापाको संलग्नता देखिएकाले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको प्रहरीले बताए पनि दुहबीका अगुवाहरूले भने थापा नागरिक अगुवा तथा सामाजिक व्यक्ति भएका कारण उनले हत्या गर्न नसक्ने दावी गरेका छन् । थापा प्याब्सनका केन्द्रीय सदस्य पनि हुन् ।