भोजपुर । ग्रामीण क्षेत्रसम्म सडक सञ्जाल विस्तार भएपछि भोजपुरका दुर्गम गाउँमा पालिएका खसीबोकाले सहज रूपमा बजार र उचित मूल्य पाउन थालेका छन् ।

यातायातको सहजतासँगै स्थानीयस्तरमा उत्पादन भएका खसीबोका ठूला सहरसम्म पुग्न थालेपछि किसानलाई बिक्री–वितरणमा सहज भएको छ । यसबाट उनीहरूको आम्दानीसमेत बढ्न थालेको छ ।

पहिले दसैँ–तिहारजस्ता ठूला चाडपर्वका बेला मात्र फाट्टफुट्ट खसीबोका बिक्री हुने गर्थे । किसानले खसीबोका बिक्री गर्न स्थानीय हाटबजारसम्म डोर्‍याएर लैजानुपर्ने झन्झटसँगै अपेक्षित मूल्य नपाउने समस्या पनि थियो । अहिले सडक सञ्जाल विस्तार भएपछि गाउँका खसीबोका काठमाडौं, धरान, इटहरी र विराटनगरजस्ता ठूला सहरसम्म पुग्न थालेका छन् ।

अहिले गाउँमै जिउँदो खसीबोका प्रतिकिलो रु ५०० देखि ६०० सम्ममा सहजै बिक्री भइरहेको छ । राम्रो मूल्य पाउन थालेपछि जिल्लामा बाख्रापालनप्रति किसानको आकर्षणसमेत बढेको छ ।

गाउँबाट खसीबोका सङ्कलन गरी काठमाडौं पठाउँदै आएका स्थानीय व्यापारी गणेश विष्टका अनुसार अहिले महिनामा करिब २०० वटा खसीबोका काठमाडौं पठाउने गरिएको छ । युवाहरू मिलेर गाउँबाट सङ्कलन गरिएका खसीबोका काठमाडौं ढुवानी गर्दा प्रतिगोटा रु ८०० देखि रु १ हजार ५०० सम्म भाडा लाग्ने गरेको उनले जानकारी दिए ।

घरआँगनबाटै खसीबोका बिक्री हुन थालेपछि किनबेचमा ठूलो सहजता आएको टेम्केमैयुङ–५, मझौलेका स्थानीय हर्कराज लुइँटेलले बताए । घरमै तराजुमा जोखेर बिक्री गरिने भएकाले ठगिने सम्भावना नरहेको उनको भनाइ छ । आफूलाई पैसाको आवश्यकता परेको अवस्थामा तत्कालै बिक्री गर्न सकिने भएकाले गर्जो टार्न समेत सहज भएको उनले बताए ।

“यातायातको सुविधाका कारण गाउँघरमा पालिएका खसीबोका अहिले काठमाडौंलगायत ठूला सहरसम्म जान थालेका छन्,” उनले भने, “विगतमा अन्दाजको भरमा बेच्नुपर्दा घाटा सहनुपथ्र्यो । अहिले व्यापारी आफैँ खोरसम्म खोज्दै आउँछन् । खोरबाटै राम्रो मूल्यमा बिक्री गर्न पाउँदा निकै सहज भएको छ ।”

अर्का स्थानीय किसान रमेश विष्टले पनि घरैबाट सोचेजस्तो मूल्यमा खसीबोका बिक्री हुन थालेपछि बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने अवस्था बनेको बताए ।

सडक सुविधाका कारण बजारको पहुँच विस्तार भएसँगै दुर्गम गाउँका किसानका लागि बाख्रापालन व्यवसाय भरपर्दो र गतिलो आम्दानीको स्रोत बन्दै गएको छ । रासस