बिर्तामोड । एक समय यस्तो थियो, जब अर्जुनधारा–९ का तिलरूपा कटवालको परिवारमा बिहानको पहिलो चिन्ता खाना होइन, रक्सी र लागूऔषध कसरी जुटाउने भन्ने हुन्थ्यो । घरका सदस्यहरू नै दुव्र्यसनको दलदलमा थिए । तीन कठ्ठा जमिन सकियो, ऋणमा किनेको टाटा सुमो दुर्घटनामा प¥यो, घरको सम्पत्ति बिक्री भयो । कहिलेकाहीँ मागेर, कहिलेकाहीँ चोरी गरेरसमेत पेट पाल्नुपरेको त्यो अँध्यारो समय आज पनि उनी बिर्सन सक्दिनन् ।

आज भने तिनै तिलरूपा झापाको बिर्तामोड–५ मा रहेको क्षितिज महिला सुधार केन्द्र सञ्चालन गर्दै सयौं महिलाको जीवनमा उज्यालो बाँडिरहेकी छन् । २०७८ साल फागुनमा स्थापना भएको केन्द्रले पाँच वर्षको अवधिमा ६ सय २९ जना महिलालाई दुव्र्यसनबाट मुक्त गराएर परिवार र समाजमा फर्काइसकेको छ । तीमध्ये करिब ५० जना अहिले वैदेशिक रोजगारीमा छन् । धेरैले नयाँ परिवार, नयाँ पेसा र नयाँ सपना भेटेका छन् ।

केन्द्रमा अहिले ९३ जना महिला उपचार तथा पुनःस्थापनामा छन् । उनीहरूमध्ये २२ जना १९ वर्षभन्दा कम उमेरका किशोरी हुन् । डान्सबारबाट उद्धार गरिएकी १५ वर्षीया बालिकादेखि बेल्ली डान्स गराइँदै गरेकी १८ वर्षीया किशोरीसम्म यहाँ नयाँ जीवन खोजिरहेका छन् ।

यहाँ नेपालका पोखरा, वीरगञ्ज, काठमाडौँ, ताप्लेजुङ, सङ्खुवासभा, धरान, विराटनगर, इटहरीलगायतका स्थानका साथै भारतका मिरिक, सिलिगुडी, कालिम्पोङ र सिक्किमबाट पनि महिला दुव्र्यसनी उपचारका लागि आउने गरेका छन् । गृह मन्त्रालय र समाज कल्याण परिषद्मा सूचीकृत यो केन्द्रले उपचारसँगै शिक्षालाई पनि निरन्तरता दिएको छ । यहाँ उपचारपछि चार जनाले एसईई उत्तीर्ण गरिसकेका छन् भने अहिले छ जना नियमित अध्ययनरत छन् ।

आफ्नै जीवन थियो पीडाको पर्याय तिलरूपा स्वयम् पनि दुव्र्यसनको सिकार थिइन् । श्रीमान् अशोक कार्की, आमाजु, देवर र माइतीका दुई दाजु पनि त्यही लतमा फसेका थिए । “खान नपुग्ने अवस्था थियो । मागेर पनि खायौँ, चोरेर पनि खायौँ होला”– उनी विगत सम्झिन्छिन् । दुव्र्यसनकै बीच उनलाई क्षयरोग (टीबी) लाग्यो । स्वास्थ्यले साथ छोडेपछि उनले मादक पदार्थ त्यागिन् । बचाउन नसक्ने भयका कारण परिवारले माइत पठायो ।

माइतमा उनले चिया बगानमा मजदुरी गरिन् । पछि झापा फर्केर स्थानीय पत्रकार तथा समाजसेवी कुमार भट्टराई र चिकित्सकको सल्लाहमा दुई वर्ष नियमित औषधि सेवन गरिन् । त्यसपछि उनी पूर्ण रूपमा स्वस्थ भइन् । त्यसयता उनी फेरि कहिल्यै दुव्र्यसनको दुनियाँमा फर्किइनन् ।

दाजुको मृत्युले बदलियो जीवनको लक्ष्य तिलरूपाको कान्छो दाजु पनि दुव्र्यसनकै कारण मानसिक रूपमा विक्षिप्त बनेका थिए । उनलाई पुनःस्थापना केन्द्रमा राख्ने तयारी भइरहेका बेला उनले गाउँदेखि टाढा गएर आत्महत्या गरे । त्यो घटनाले तिलरूपालाई भित्रैदेखि हल्लायो । “यदि समयमै उपचारको व्यवस्था भएको भए सायद दाजु बाँच्नुहुन्थ्यो”–उनी भन्छिन् । त्यही पीडाबाट जन्मियो एउटा सपना—दुव्र्यसनमा फसेका महिलाका लागि सुरक्षित पुनःस्थापनाको घर बनाउने ।

भातमा अलिकति चामल थपेर सुरु भएको अभियान 
घरखेत सबै सकिएपछि उनी डेरा बस्न बिर्तामोड आइन् । त्यहाँ छिमेकी मञ्जु सिटौलासँग सल्लाह गरेर पुनःस्थापना केन्द्र खोल्ने निर्णय भयो । तर पैसा थिएन । सुरुका दिनमा आफ्नै परिवारका लागि पकाएको भातमा अलिकति चामल थपेर केन्द्रमा बस्ने महिलालाई खुवाउने गरेको तिलरूपा सम्झिन्छिन् । त्यहीबेला ताप्लेजुङबाट उपचारका लागि ल्याइएकी एक महिलाका अभिभावकले एक वर्षको शुल्क अग्रिम बुझाइदिए । त्यही रकमले केन्द्रको यात्रा अघि बढ्ने आधार बन्यो ।

उपचार मात्रै होइन, जीवन पुनर्निर्माण केन्द्रमा धेरै महिलाहरू दुव्र्यसनका कारण शारीरिक र मानसिक समस्याबाट गुज्रिरहेका हुन्छन् । कम उमेरमै विवाह, असुरक्षित सम्बन्ध, हिंसा र सामाजिक बहिष्कारले उनीहरूको अवस्था झन् जटिल बनेको हुन्छ । इलामको भित्ते भन्ने स्थानकी एक महिला सात महिनादेखि केन्द्रमै बसिरहेकी छन् ।

परिवारले स्वीकार नगरेपछि उनी यतै बस्न बाध्य छिन् । उनीजस्तै परिवारले जिम्मा लिन नचाहेका चारजना महिला नयाँ जीवन पाएर पनि अझै केन्द्रमै छन् । केन्द्रमा मनोचिकित्सक, परामर्शदाता, ‘१२ पाइला’ कार्यक्रमका प्रशिक्षक र ‘आजका निम्ति मात्र’ पाठ्यक्रमका शिक्षक नियमित रूपमा कार्यरत छन् । तिलरूपा स्वयम् पनि परामर्शदाताको भूमिकामा सक्रिय छिन् ।

परिवार पनि बनेको छ अभियानको हिस्सा
एक समय दुव्र्यसनकै कारण परिवार भत्किएको थियो । आज त्यही परिवार समाजका भत्किएका परिवार जोड्ने अभियानमा छ । श्रीमान् अशोक कार्की अहिले केन्द्रमै कार्यरत छन् । उनी बिरामी ल्याउने, उपचारपछि घरसम्म पुर्याउने र आवश्यक सामग्री व्यवस्थापन गर्ने काम गर्छन् । छोरा अष्ट्रेलियामा छन् । बुहारी पनि त्यतै जाने तयारीमा छिन् । परिवार अहिले एकताबद्ध छ । दुव्र्यसनले खोसेको जीवन तिलरूपाले फेरि आफ्नै हातले निर्माण गरिन् । अहिले उनी आफ्ना लागि होइन, अरूका छोरी, दिदीबहिनी र आमाहरूलाई नयाँ जीवन दिन दिनरात खटिएकी छन् । 
क्षितिज महिला सुधार केन्द्रको कथा एउटा संस्थाको मात्र होइन, एउटा महिलाको अदम्य साहस, परिवर्तन र आशाको कथा हो ।