विजयपुर । सुनसरी प्रहरीले ब्राउन सुगरसहित तीन युवकलाई पक्राउ गरेको छ ।


इनरुवा नगरपालिका–४ स्थित ट्याक्सी स्ट्यान्ड नजिकबाट ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा इटहरी–१७ निवासी १६ वर्षीय सुशान्त चौधरी, १८ वर्षीय अरमान खान र १८ वर्षीय सक्सेस दास रहेका छन् । प्रहरीका अनुसार शनिबार चेकजाँच क्रममा पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका तीन जनामाथि शंका लागेपछि प्रहरीले उनीहरूको शरीर तथा साथमा रहेको सामान खानतलासी गरेको थियो । खानतलासीका क्रममा उनीहरूको साथबाट ब्राउन सुगर २.६५ ग्राम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ ।