विराटनगर । मोरङ जिल्लामा ६४.५६ प्रतिशत मतदान भएको छ ।

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार बिहीबार साँझ सम्मको संकलन गरेको तथ्याङ्क अनुसार जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमा कुल ५ लाख ५ हजार ५१४ मत खसेको छ ।

मोरङमा कुल ७ लाख ८३ हजार ५० मतदाता रहेका थिए । खसेको कुल मतमध्ये महिलाको सहभागिता पुरुषको तुलनामा बढी देखिएको छ । तथ्याङ्क अनुसार २ लाख ६२ हजार १९६ महिला, २ लाख ४३ हजार ३१६ पुरुष र २ जना अन्यले मतदान गरेका छन् ।

क्षेत्र नम्बर ५ मा सबैभन्दा बढि मतदान 

मोरङका ६ वटा क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी ७१.२८ प्रतिशत मत खसेको छ भने क्षेत्र नम्बर १ मा सबैभन्दा कम ६०.३६ प्रतिशत मतदान भएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा  ६०.३६ प्रतिशत अर्थात ७७ हजार ५८५ मत खसेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा ६२.९७ प्रतिशत ८१ हजार ३४५ जनाले मतदान गरेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा ६१.१७ प्रतिशत ९६ हजार ६७७,  क्षेत्र नं. ४ मा  ६७.१५ प्रतिशत ८० हजार ६४ प्रतिशत, क्षेत्र नं. ५ मा  सबैभन्दा बढी ७१.२८ प्रतिशत अर्थात् ७८ हजार ५२९ मत खसेको छ । निर्वाचन क्षेत्र नं. ६ यस क्षेत्रमा ६६.२३ प्रतिशत ९१ हजार २९२ मत खसेको छ ।

जिल्लाभरका ८८८ वटा मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको प्रशासनले जनाएको छ । अहिले सबै क्षेत्रका मतपेटिकाहरू संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लैजाने क्रम जारी छ । मतपेटिकाहरू रुजु गरिसकेपछि आजै रातिदेखि गणना सुरु गर्ने तयारी गरिएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले १० बजेपछि सर्वदलीय बैठक राखेर मतगणना सुरु गर्ने जानकारी दिए । ‘दलका प्रतिनिधीहरुलाई भनिसकेको छ,’ उनले भने, ‘सर्वदलीय बैठकपछि १० बजेपछि मतगणना गर्ने तयारी गरिएको छ ।’