विराटनगर । मोरङमा हालसम्म ५२ प्रतिशत मतदान भएको छ । 

छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ४ बजेसम्म ५१ दशमलव ९५ प्रतिशत मतदान भएको हो । बिहान ६ बजेदेखि सुरु भएको मतदान प्रक्रियापछि बिहानैदेखि मतदाताहरू उत्साहका साथ मतदान केन्द्रतर्फ पुगेका छन् । मतदान सुरु भएलगत्तै विभिन्न केन्द्रहरूमा मतदाताको लाम देखिएको थियो ।

निर्वाचन कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा ५२.१६ प्रतिशत, क्षेत्र नम्बर २ मा ४४.६० प्रतिशत, क्षेत्र नम्बर ३ मा ४५.८८ प्रतिशत, क्षेत्र नम्बर ४ मा ५७.४९ प्रतिशत, क्षेत्र नम्बर ५ मा ५८.४२ प्रतिशत र क्षेत्र नम्बर ६ मा ५६.४७ प्रतिशत मतदान भएको छ ।

जिल्लाभर रहेका ३ सय ६ मतदान स्थलका ८ सय ८८ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यस निर्वाचनमा मोरङबाट १ सय १० जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । जिल्लामा ७ लाख ८३ हजार ५० जना मतदाता रहेका छन्, जसले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । 

बिहानैदेखि मतदान केन्द्रहरूमा मतदाताको चहलपहल बढेको देखिएको छ भने दिउँसोसम्म मतदान दर क्रमशः बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ।

हालसम्म ५१ प्रतिशत मत खसेको हो । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा कुल मतदान प्रतिशत करिब ६० देखि ६५ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । मोरङ जिल्लामा कुल ७ लाख ८३ हजार ५० मतदाता रहेका छन् । तीमध्ये हालसम्म ४ लाख ३० हजारभन्दा बढी मत खसेको छ ।