विजयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर एकै चरणमा मतदान हुँदैछ। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मुलुकका ७७ वटै जिल्लामा मतदान सञ्चालन हुनेछ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन सम्पन्न भएको थियो। यसपटक 'पहिलो हुने निर्वाचित हुने' (प्रत्यक्ष) प्रणालीतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान हुँदैछ। प्रत्यक्षतर्फ ६५ राजनीतिक दलका उम्मेदवारहरू ६१ निर्वाचन चिह्नमा प्रतिस्पर्धा गरिरहेका छन्। सोतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कूल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी कूल तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगका अनुसार यसपटक ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। साथै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ।
देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् भने १४३ अस्थायी मतदानस्थल तोकिएका छन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकताका साथ मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको छ। मतदान सम्पन्न गराउन दुई लाख १५ हजार कर्मचारी खटिएका छन्।
आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पु¥याइसकेको जनाएको छ। यस निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्थाले पर्यवेक्षण गरिरहेका छन्।
































