विजयपुर। प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका, धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने भएकी छन्।

प्रतिनिधिसभा सदस्यको फागुन २१ (भोलि) हुने निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता आआफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा मतदान गर्नेछन्।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चितवनको भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल, शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्नेछन्। नेपाली कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी, मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गर्नेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गर्नेछन्। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौँ महानगरपालिका-९, तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय केन्द्रबाट मतदान गर्ने जनाइएको छ। पूर्वराष्ट्रपति रामवरण यादवले धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-४, सपहीस्थित विपी कोइराला मावि मतदान केन्द्रमा मतदान गर्नेछन्। अर्का

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-२, भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गर्ने जनाइएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा मतदान गर्नेछन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चितवनको भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल, शान्तिपुरमा मतदान गर्नेछन्। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालयमा मतदान गर्नेछन्। सोही पार्टीका वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका-९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गर्नेछन्। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ अन्तर्गत पालुङटार नगरपालिकाको खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गर्नेछन्।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौँको पुरानो बानेश्वरस्थित सानो गौचरण पार्कमा मतदान गर्नेछन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिरमा मतदान गर्नेछन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर-१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवनमा मतदान गर्नेछन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारी गाउँपालिका-१ स्थित वडा कार्यालयमा मतदान गर्नेछन्। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर नगरपालिका-५, विद्यार्थी निकेतन माध्यमिक विद्यालय, साकोठामा मतदान गर्नेछन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ महानगरपालिका-६, महाँकालस्थित जनकल्याण मावि मतदान केन्द्रबाट मतदान गर्नेछन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुनसरीको धरान उपमहानगरपालिका-१८, कार्मेल विद्यालयमा मतदान गर्नेछन्। कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल युवक माध्यमिक विद्यालय, पकनाजोल, नेता डा. शेखर कोइरालाले मोरङको विराटनगर-७, आदर्श माध्यमिक विद्यालयमा मतदान गर्नेछन्।