विजयपुर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुर्‍याइसकिएको छ । सुरक्षा लगायतका प्रबन्ध पनि मिलाइसकेको आयोगको भनाइ छ ।

बिहीबार निर्वाचनको मतदान केन्द्रको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैङ्गिक र अपाङ्गमैत्री व्यवस्था तथा कर्मचारी परिचालन लगायतका सम्पूर्ण तयारी भइसकेको छ । मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क भएर मताधिकार प्रयोग गर्न आयोगले अपिल गरेको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा वैधानिक दायित्व अनुसार आयोग स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील रहेको बताइएको छ ।

निर्वाचन केवल आफ्ना प्रतिनिधि छान्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतन्त्रको वैधता नवीकरण गर्ने संवैधानिक अभ्याससमेत हो । लोकतन्त्रको सुदृढीकरणका लागि हुने मतदान नागरिकको अधिकार र दायित्व दुवै हो । कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले भने, "आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक र कानुनी अधिकार मात्र होइन, लोकतान्त्रिक नागरिकको जिम्मेवारी हो ।" कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगमा परेका उजुरीबाहेक हालसम्म अन्य उम्मेदवारहरूको अयोग्यताको विषयमा कुनै उजुरी नपरेको र छानबिनको क्रममा नरहेको स्पष्ट पारे ।

गणना सुरु भएको २४ घण्टाभित्र परिणाम दिने तयारी

आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम दिने गरी गणना गराउने प्रबन्ध गरेको जनाएको छ । त्यसलगत्तै समानुपातिकतर्फको मतगणना हुने जनाइएको छ । दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका सङ्कलन गरिने र अन्य स्थानको गाडीबाट सङ्कलन गरिने आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिए ।

मतपत्र र मतपेटिकाको सुरक्षा र सङ्कलन विगतमाझैँ एकीकृत सुरक्षा योजनाबमोजिम हुने भएकाले मतपेटिका सुरक्षित हुने आयोगको भनाइ छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, "मतपेटिका सङ्कलन पहिलेदेखिकै व्यवस्था अनुसार हुने हो । नेपाली सेनाले छुट्टै सङ्कलन गर्ने होइन । मतपेटिका किञ्चित् साटफेर हुँदैन । यसमा शङ्का गरिरहनु पर्दैन ।"

कतिपय जिल्लामा उम्मेदवारसमेत पैसा र मादक पदार्थ बोकेर मतदाता प्रभावित गर्न हिँडेको आशङ्कामा पक्राउ परेका छन् । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्ता गतिविधिमा आयोगले शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारे । यस निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुने छन् । यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता रहेका छन् ।