विजयपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको सुरक्षा निकायले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चामा रहेका झापालगायत कोशी प्रदेशका सबै निर्वाचन क्षेत्रमा भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छ । सुरक्षा निकायका प्रमुखहरूले कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच आवश्यक सहयोग र समन्वयमा सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ । उनीहरुले समयमै मतदानस्थलमा पुगेर निर्धक्क मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । नेपाली सेनाका पूर्वी पृतनापति एवं उपरथी गौरवकुमार केसीले रासससँगको कुराकानीमा सेना अन्य सुरक्षा निकायसँगको समन्वय र प्रभावकारी सुरक्षा व्यवस्थापनमा खटिएको बताए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन कोशी प्रदेशको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताए । सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गराउन पूर्वी पृतना कटिबद्ध रहेको उपरथी केसीले जानकारी दिए ।

प्रदेशका १४ वटै जिल्लामा अस्थायी बेस स्थापना गरी पैदल तथा मोबाइल गस्ती सञ्चालन, बम डिस्पोजल टोली परिचालन तथा तैनाथी, संवेदनशील स्थानमा विशेष फौजको तैनाथी र सुरक्षा अवस्थालाई थप सुदृढ बनाउन हवाई गस्ती तथा ड्रोनमार्फत निगरानी बढाइएको सेनाले जनाएको छ । सशस्त्र प्रहरी बलसँगको सहकार्यमा निर्वाचनको मौन अवधिमा सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन पैदल तथा मोबाइल गस्ती बढाइएको छ । आकस्मिक उद्धार तथा सम्भावित संवेदनशील अवस्थामा खटिन हेलिकप्टर तथा हवाइजहाजलाई इटहरी र विराटनगरमा तयारी अवस्थामा राखिएको सेनाको भनाइ छ ।

कोशी प्रदेशका प्रहरी प्रमुख विनोद घिमिरेले सबै निर्वाचन क्षेत्रमा एकीकृत सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा निकाय खटिएको बताए । उनले भने, 'सबै ठाउँमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त र सुदृढ छ । मतदानमा भाग लिन मतदाताले कुनै डरत्रास मान्नुपर्दैन । सुरक्षामा कुनै कमजोरी हुँदैन । निर्धक्क भई मतदान गर्नुस् ।' सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले सुरक्षामा कुनै सम्झौता नगर्ने गरी गस्ती भइरहेको जानकार दिए । उनले सीमावर्ती क्षेत्रमा कडाइ गरिएको र भयरहित वातावरणमा मतदानको सुरक्षा सुनिश्चितता गरिसकेको स्पष्ट पारे । सशस्त्र प्रहरी बलले सबै निर्वाचन क्षेत्रमा आवश्यक जनशक्ति परिचालित गरिएको बताइएको छ । सुरक्षा व्यवस्थापनका लागि 'हेडक्वार्टर' र कोशी प्रदेशस्तरीय सुरक्षा समितिबाट प्रहरी टोली परिचालन गरिएको छ ।


Word Count: 331