सिरहा । सिरहामा अपहरणपछि बालकको हत्या भएको घटनामा संलग्नताको आशङ्कामा प्रहरीले आफन्त र छिमेकीसहित आधादर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । गोलबजार नगरपालिका–१३ दुर्गापुर डङ्ग्राहाका १४ वर्षीय अभिषेककुमार सिंहको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । 

प्रहरीले आपराधिक घटनाका लागि प्रशिक्षित कुकुरको प्रयोग गरेर अनुसन्धान थालेको छ । शव अझै घटनास्थलमै रहेको स्थानीयले जनाएका छन् । अनुसन्धानका लागि आएका कुकुर पनि शव भएको वरपर नै घुमिरहेको स्थानीयले जनाए । अहिले शव राखिएको करिब १० मिटर दक्षिणमा सानो खाल्डो समेत खनिएको छ । पहिले सोही खाल्डोमा पुर्ने योजनासहित खाल्डो खनिएको भए पनि पानी परेका कारण खन्न नसकेको प्रहरीको अनुमान छ । खाल्डो खन्न सक्ने अवस्था नभएपछि शव बाटोमै छोडेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । 

बालक यही असोज ५ गते आइतबार रातिको खाना खाएर घरबाट निस्केका थिए । राति साथीहरूसँग झिँजिया हेर्न गएको होला भनी घरपरिवारले खोजतलास गरेका थिएनन् । तर, बिहानसम्म छोरा नआएपछि खोजी थालिएको वडाध्यक्ष नन्दकुमार महतोले बताए । उनले भने, “बालक बिहान पनि घर नआएपछि खोजतलास गर्दै मेरोमा पनि आउनुभयो, सोही क्रममा मोबाइल हेर्दा इमोमा पाँच करोड फिरौती मागेको म्यासेज आइरहेको थियो । हिन्दी भाषामा लेखिएको सो म्यासेजमा पाँच करोड रकम सेप्टेम्बर २५ भित्र बुझाउन तथा प्रहरी र पत्रकारलाई खबर गरे जे पनि हुनसक्ने लेखिएको थियो ।”

घटनाबारे जानकारी पाउनासाथ आफूहरूले प्रहरीलाई खबर गरे पनि खोजतलासमा प्रहरीले ध्यान नदिएको आफन्तको आरोप छ । आफन्तले जान सक्ने सम्भावित क्षेत्रहरूमा पुगेर खोजतलास गरेको जानकारी दिए । हराइरहेका बालकको शव मङ्गलबार बिहान घरबाट करिब सय मिटर पूर्व अर्जुन आधारभूत विद्यालय नजिकै फेला परेको थियो । घटना प्रकृतिका आधारमा परिवारभित्रैका व्यक्तिबाट हत्या भएको हुनसक्ने स्थानीयको आशङ्का छ । सोही आधारमा प्रहरीले मृतकका आफन्त र छिमेकीहरूलाई नियन्त्रणमा लिएको छ । हालसम्म करिब ८ जनालाई नियन्त्रणमा लिइसकेको प्रहरीको भनाइ छ । 

अभिषेकका बुबाको करिब १० वर्ष पहिला पानी तान्ने मोटरमा करेन्ट लागेर मृत्यु भएको थियो । उनको हजुरबुबा लक्ष्मण महतो एक्लो नातिको मुख हेरेर बाँचिरहेका थिए । नातिको पनि हत्या भएपछि उनको परिवार अहिले भावविह्ल अवस्थामा छ । परिवारको एकमात्र आशाका केन्द्र अभिषेकको हत्याले परिवार र गाउँ नै शोकमा डुबेको छ । अभिषेकको परिवारमा हजुरबुबा, हजुरआमा, आमा र बहिनी छन् ।