विराटनगर । मोरङको विराटनगर महानगरपालिका–९ धोबियारीमा सोमबार दिउँसो एक हजार रुपैयाँ नदिएको निहुँमा देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् ।
नाताले देवर पर्ने २५ वर्षीय श्रवण साह (छोटु) ले पैसाको लेनदेनसम्बन्धी सामान्य विवादमा आफ्नै २२ वर्षीया भाउजू रागिनीदेवी साहमाथि एसिड प्रहार गरी घाइते बनाएका हुन् । यो घटनाले पारिवारिक सम्बन्धभित्र बढ्दै गएको असहिष्णुता, आवेग र हिंसाको डरलाग्दो चित्र प्रस्तुत गरेको समाजशास्त्रीहरू बताउँछन् । घाइते रागिनीको हाल विराटनगरस्थित न्यूरो अस्पतालको सघन उपचार कक्ष (आईसियु) मा उपचार भइरहेको छ । अस्पतालका चिकित्सकका अनुसार उनको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पारिवारिक स्रोतका अनुसार घटनाको जड सामान्य लेनदेन थियो । घाइतेका श्रीमान् सन्तोष साहका अनुसार उनका भाइ श्रवणले भाउजू रागिनीसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले आफूसँग भएको दुई हजार रुपैयाँ दिएको उनले बताए । तर बाँकी एक हजार रुपैयाँ तत्काल दिन नसक्दा विवाद चर्किएको उनले बताए । “उसले तीन हजार मागेको थियो, भाउजूले चाहिँ दुई हजार रुपैयाँ मात्रै दिएकी रहिछन्” सन्तोषले भावुक हुँदै भने, “बाँकी एक हजार पछि दिन्छु भन्दा उसले झगडा गर्न थाल्यो ।” घटना हुनुभन्दा केही समयअघि आरोपित श्रवणले आफूलाई पनि ज्यान मार्ने धम्की दिएको बताए ।
घटना हुँदा सन्तोष आफ्नो घर नजिकैको भाँडाकुँडा पसलमा काम गरिरहेका थिए । त्यही बेला उनकी श्रीमती रागिनीले रुँदै फोन गरेर भाइले आफूमाथि आक्रमणको प्रयास गरेकाले तुरुन्त घर आउन भनिएको उनले बताए । उनका अनुसार आफू घर पुग्दा भाइ श्रवण त्यहीँ थिए । “मैले किन भाउजूलाई हातपात गरेको भनेर सोध्दा ममाथि नै जाइलाग्न खोज्यो” सन्तोषले घटनाको विवरण सुनाए, “मैले सम्झाइबुझाई गरेर उसलाई घरबाट बाहिर पठाएँ ।” तर आफूले कल्पना गरेभन्दा फरक रूप धारणा गरेर भाउजूमाथि एसिड आक्रमण गर्ला भन्ने सोच्दै नसोचेको उनले बताए । घरबाट निस्किएको केही समयमै एसिडको बोतल लिई भाउजूमाथि आक्रमण गरी घटनास्थलबाट भागेको स्थानीय बताउँछन् ।
उक्त घटनाबाट आहत भएका सन्तोषले तत्कालै घरमा भएको पानीले श्रीमतीको अनुहार पखाल्ने प्रयास गरे र नजिकैको न्यूरो अस्पताल पु¥याए । “यस्तो होला भनेर मैले कहिल्यै सोचेको थिइनँ” अस्पतालमा श्रीमतीको कुरुवा बसिरहेका सन्तोषले भने, “सामान्य विषयलाई लिएर आफ्नै भाइले यतिसम्म गर्ला भन्ने कल्पना बाहिरको कुरा थियो ।” यो घटनाले साह परिवार पूर्णरूपमा स्तब्ध बनेको छ । परिवारमा आमा, दुई भाइ, श्रीमती र दुई छोराछोरी बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुडालले घटनाबारे जानकारी आउनासाथ प्रहरी टोली परिचालन गरिएको र आरोपित श्रवण साहको खोजी कार्य तीव्र पारिएको बताइन् । “हामीले अभियुक्तको खोजीका लागि विशेष टोली बनाएका छौँ र सम्भावित सबै ठाउँमा निगरानी बढाएका छौँ” डिएसपी चुडालले भनिन्, “दोषीलाई कुनै पनि हालतमा उम्कन दिइने छैन र कानूनबमोजिम कारबाही गरिनेछ ।”
नेपालको कानूनले एसिड आक्रमणलाई फौजदारी अपराध मानेको छ । एसिड आक्रमणजस्तो जघन्य अपराध नियन्त्रण गर्न नेपालको कानूनले कडा सजायको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १९३ अनुसार, एसिड वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषाक्त पदार्थ प्रयोग गरी कसैको अनुहार कुरूप पारेमा कसूरको प्रकृति हेरी ५ देखि ८ वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था छ । शरीरको अन्य अङ्ग कुरूप पारेमा वा पीडा पुर्याएमा ३ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था छ ।