इटहरी । भारतका विभिन्न राज्यमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदा पनि नेपालसँग जोडिएका सीमाक्षेत्रमा स्वास्थ्य सुरक्षा सचेतना अपनाइएको छैन । बिहीबारसम्म कोरोना सङ्क्रमणका कारण भारतमा १४ जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ ।
नेपालसँग सीमा जोडिएका क्षेत्रमा कुनै पनि स्वास्थ्य सुरक्षा सचेतना अपाइएको छैन । कोशी प्रदेशमा तीन दर्जनभन्दा बढी क्षेत्र खुला नाका रहेको छ । झापाको काँकरभिट्टा, भद्रपुर, मोरङको दर्बेसा, जोगवनी, सुनसरीको हरिनगर, भन्टाबारी, कोशी ब्यारेजजस्ता सीमा क्षेत्रहरू सुरक्षाको दृष्टिले अति नै संवेदनशील मानिन्छ । २०७६ सालको माघ महिनामा पहिलो पटक नेपालमा कोरोनाको बिरामी देखिएको थियो । तत्कालीन समयमा प्रदेश सरकारले नेपालसँग सीमा जोडिएका नाकाहरू शिल गरेको थियो । भारतमा कोरोना सङ्क्रमण बढे पनि सीमा जोडिएका नाकाहरूमा सतर्कता नअपाइएको जानकारहरू बताउँछन् ।
भारत छिर्नेहरूलाई त्यति निगरानी गरिँदैन तर किनमेल गरेर फर्कनेहरू प्रत्येकको झोला तथा सामग्रीहरूको नियमित चेकजाँच हुने गरेको विराटनगर जोगवनीमा खटिएका सशस्त्र प्रहरी जवानहरू बताउँछन् । कोरोना सङ्क्रमणबारे जानकार भए पनि माथिल्लो निकायबाट तत्काल कुनै निर्देशन नआएको जोगवनी नाकामा खटिएका सुरक्षा अधिकारीहरू बताउँछन् । जोगवनी नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ६० जना सुरक्षाकर्मीहरू खटिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
भारतमा कोरोना सङ्क्रमण फैलिएको बारे जानकार रहे पनि नेपालमा तत्काल आत्तिइहाल्ने अवस्था नआएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘सरकारबाट त्यस्तो कुनै आदेश या निर्देशन आइसकेको छैन तर पनि आन्तरिक सतर्कता भने जारी छ’–प्रजिअ यादवले भने । भारतमा कोरोना सङ्क्रमणले दैनिक मृत्युदर बढेका कारणले नेपालमा पनि सुरक्षा सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् । कोशी अञ्चल अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. विविशा बानियाले बेलैमा सतर्कता अपनाउन आग्रह गरिन् । अहिलेदेखि नै सभा सम्मेलन तथा भीडभाडका कार्यक्रमहरू रोक्न सुझाव दिँदै प्रशासनले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
नोबेल अस्पतालका जेनेरल मेनेजर रुद्रप्रसाद शर्माले नेपालसँग जोडिएका प्रत्येक भारतीय सीमामा अनिवार्य पिसिआर चेकजाँच हुनुपर्ने र तत्काल क्वारेन्टाइनको व्यवस्था मिलाइनुपर्ने बताए । कोरोना सङ्क्रमण भारतमा देखिए पनि नेपालमा तत्काल त्यस्तो कुनै खतरा नदेखिएको र सङ्घीय सरकारबाट पनि कुनै सन्देश जारी नभएकोले सीमा क्षेत्रमा निगरानी बढाउन थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । अब बर्खायाम सुरु भएको कारण सम्पूर्ण सुरक्षा निकायहरूलाई विपद् व्यवस्थापन तथा उद्धारका कार्यहरूमा तयारी अवस्थामा रहन निर्देशन दिइसकेको प्रजिअ मिश्रले बताए ।
कोशी सरकार सभा सम्मेलनमै व्यस्त
भारतमा सङ्क्रमण बढिरहँदा कोशी प्रदेश सरकार भने सभा सम्मेलनमै व्यस्त देखिएको छ । कोशी सरकारले गणतन्त्र दिवसको नाममा कन्सर्ट आयोजना गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीका अनुसार भारतमा कोरोना देखिहाल्यो भन्दैमा नेपालमा अहिले नै लकडाउन गरिहाल्नुपर्ने, सबैलाई अत्याइहाल्नुपर्ने स्थिति नरहेको बताए । पहिला अवस्था बुझ्ने र त्यसपछि सुरक्षा सतर्कता अपनाउँदै जाने तयारीमा रहेको मन्त्री भण्डारीले बताए ।