भद्रपुर । झापामा हाउजी बिङ्गो तम्बोला खेल खेलाउन प्रशासनले प्रतिबन्ध लगाएको छ । चौतर्फी विरोध भएपछि जिल्ला प्रशासन कार्यालय झापाले अनुमति दिन बन्द गरेको हो ।

जुवाजन्य खेलकै रूपमा पैसा कमाउन हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि प्रशासनले अबदेखि खेलाउन नदिने भएको जनाएको छ  । माघ ८ गतेदेखि बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हाउजी खेलाउन लाग्दा प्रहरी प्रशासनले रोक लगाएको हो । महोत्सवको दोस्रो दिन हाउजीका लागि माइकिङ गरेदेखि नै विरोध सुरु भएको थियो । आयोजक बिर्तामोड उद्योग वाणिज्य सङ्घले तेस्रो दिन हाउजी खेलाएकोमा त्यसपछि प्रहरी प्रशासनले खेलाउन प्रतिबन्ध लगाएको हो ।

त्यसैगरी आगामी फागुन ७ देखि १७ गतेसम्म बिर्तामोड–१० सैनिकबजारमा आयोजना गर्नेगरी सैनिक महोत्सवको अनुमति लिन जाँदा जिल्ला प्रशासन कार्यालयले हाउजी खेलाउने अनुमति नदिएको आयोजकले जनाएको छ । हाउजी जुवाजन्य खेल भएको भन्दै चौतर्फी विरोध आएपछि हाउजी खेलाउन प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । अबदेखि जुवाजन्य कुनै पनि खेल खेलाउन अनुमति नदिइने उनले जानकारी दिए ।

यसअघि प्रशासन कार्यालयको अनुमति लिएर झापामा पैसा कमाउनकै लागि लगातार हाउजी खेल खेलाइँदै आएको थियो । प्रत्येक मेला महोत्सवमा हाउजीलाई विकृतिकै रूपमा खेलाइने गरिन्थ्यो । कहिलेकाहीँ मात्र नभएर बिर्तामोडको सिटी सेन्टर , अर्जुनधाराको शनिश्चरे बजारलगायतका ठाउँमा पेशाकै रूपमा हाउजी लगातार सञ्चालन गरिएको थियो ।

सरकारी बजेट पचाउन र जुवा खेलाउनकै लागि बाक्लै आयोजना गर्ने गरिएका महोत्सवमा हाउजीसँगै लक्की सिक्सजस्ता जुवाजन्य खेल पनि निर्वाध खेलाउने गरिएको थियो । यसअघिका प्रमुख जिल्ला अधिकारीहरूले पनि हाउजीमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । तर, जनप्रतिनिधिहरूले त्यसलाई मानेका थिएनन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले हाउजीका कारण विभिन्न समस्या आएकाले त्यसलाई खेलाउन अनुमति दिन नहुने बताउँदै आएका थिए । बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जुवाजन्य खेलहरूमा प्रहरी प्रशासनले नै कडाइ गर्नुपर्ने बताएका छन् ।