विराटनगर । मोरङको विराटनगर महानगरपालिका–५ विशालचोकको कलेर्वा टोलमा गाडेको अवस्थामा भेटिएकी १४ वर्षीया चाँदनी यादवको हत्या आफ्नै परिवारबाट भएको खुलेको छ ।

प्रेमबाट छुटाउन आफन्त र परिवार मिलेरै बालिकाको हत्या गरिएको प्रहरीको अनुसन्धानको क्रममा खुलेको हो । उनको हत्या बाबुआमा र मावली मिलेर गरेको प्रहरीले जनाएको छ । भारतमा रहेका एक व्यक्तिको प्रेममा परेका कारण उनको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको शव मावली घरदेखि एक सय २५ मिटर उत्तरमा चार फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शुक्रबार फेला परेको थियो । उनको घर भारत बिहार प्रदेशको छपरा जिल्लामा पर्छ । उनी पुसको पहिलो साता आमा राजकुमारी र दाजुसँग मामाघर विराटनगर आएकी थिइन् । मामाघर आएको एक महिनापछि माघ ११ गते हत्या भएकोे हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि प्रहरीले हत्याको मिति पत्ता लगाउन अनुसन्धान गर्दै आएको र पक्राउ परेकाहरूबाट घटनाबारे थप कुरा खुल्ने मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

‘भारतमा एक व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध रहेछ । एक पटक ती व्यक्तिसँग भागेपछि चाँदनीको बाबुआमाले मामाघर ल्याएका रहेछन् ।  ती व्यक्तिसँग छुटाउने उद्देश्यले बाबुआमाले उनलाई मावली लिएर आएका रहेछन् । तर, चाँदनीले छुट्न नसक्ने अड्डी कसेपछि रिसको झोँकमा सबै मिलेर हत्या गरी घटना लुकाउन शव गाडेको पाइयो’ घटनाको अनुसन्धान गर्दै आएको एक प्रहरी अधिकृतले भने, ‘अहिले मामाघरतर्फका आठजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छौँ । थप विषय खुल्दै जानेछ । सूक्ष्म किसिमले अनुसन्धान सुरु गरेका छौँ ।’

प्रहरीले यस घटनामा आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरी नियन्त्रणमा चाँदनीका मावली हजुरबुबा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी जानकी मण्डल, सरजुगका भाइ पर्ने बतासी मण्डल, छोरा रामबाबु मण्डल, जेठी छोरी उर्मिला मण्डल, नातिनी अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायतलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । प्रहरी नियन्त्रणमा रहेकाहरूले सोधपुछ गर्दा वास्तविक कुरा नबताइरहेको जानकारी डिएसपी जोशीले दिए । प्रहरीले थप प्रमाण जुटाउने काम गरिरहेको उनले बताए ।

हत्याको भोलिपल्ट भारततिर
चाँदनीको हत्या गरेपछि माइतीबाट मृतकका आमा तथा दाजु घरतिर लागेका थिए । हत्यापछि शव व्यवस्थापन गरेर आमा र दाजु भारतस्थित घर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘मावली परिवारसँग मिलेर छोरीको हत्या गरेपछि आमा राजकुमारी र दाजु घर फर्किएछन्’ घटनाको अनुसन्धान गर्दै आएका अनुसन्धान अधिकृत भन्छन्, ‘हत्या कसरी गरियो भन्ने यकिन छैन । त्यस विषय पत्ता लगाउन हामीले पक्राउ परेकासँग थप सोधपुछ र थप सबुत प्रमाण खोज्दैछौँ ।’ हत्या कसरी भयो भनेर भन्न सकिने अवस्था नरहेको र अनुसन्धानको क्रममा खुल्न सक्ने प्रहरीले जनाएको छ । ‘हेरेर अनुमान गर्नसक्ने अवस्था छैन । शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ । घटना यकिन गर्न पोष्टमार्टम रिपोर्ट आउनैपर्छ । थप अनुसन्धानसमेत भइरहेको छ’–डीएसपी जोशीले भने ।

यसरी पत्ता लाग्यो शव
चाँदनी मामाघर आएको तर छरछिमेकीहरूले घरमा नदेखेपछि गाउँघरमा हल्ला चलेको थियो । चाँदनी बेपत्ता भएको जानकारी आउनासाथ प्रहरी पुग्दा हजुरबुबा सरजुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए । प्रहरीले बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए । मामाघरका हजुरबुबा र आमाको कुरा बाझिएपछि घटना रहस्यमय रहेको भन्दै मोरङ प्रहरीबाट अनुसन्धान टोली परिचालन भयो ।

‘बालिकाका बारेमा सोधीखोजी गर्दा वास्तै गरेनन् । बाबुआमा र मावली हजुरबुबाको भूमिका शङ्कास्पद देखियो । बारम्बार कुरा फेर्न थालेपछि शङ्का लागेर थप खोजतलास गर्दा शव फेला परेको हो’–डिएसपी जोशीले भने ।  मृतक चाँदनी माइली छोरी हुन् । आमा राजकुमारीका २ छोरा र १ छोरी थिए ।