भद्रपुर । हात्ती आगमन सूचना प्रविधि केन्द्र झापाको मेचीनगरमा सञ्चालनमा आएको छ ।

केन्द्रको मेचीनगर—४ बाहुनडाँगीमा शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरे । मेचीनगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले आफ्नै मोबाइलमा ‘लुना जीपीएस एप’ डाउनलोड गरी त्यसको बटम थिचेर सूचना प्रवाह गरी कन्ट्रोल रुममा रहेको स्क्रिनमा साइरन बजेपछि विधिवत रूपमा केन्द्रको शुभारम्भ भएको थियो । बाहुनडाँगी छोटी भन्सारको भवनलाई कन्ट्रोल रुम बनाइएको छ भने त्यही स्क्रिन राखिएको छ ।

यस एपमार्फत हात्ती आएको सङ्केत कसैले गरेमा साइरन बज्नेछ र सर्वसाधारणले हात्ती आएको खवर पाउने छन् । हात्तीका लागि देशभरमै पहिलो पटक झापाको मेचीनगरमा केन्द्र सञ्चालनमा ल्याएको सहजकर्ता उज्यालो नेपाल बर्दिया र समाजका लागि युवाको सहकार्य धनगढीका सल्लाहकार रमेश थापाले जानकारी दिए ।

उज्यालो नेपाल बर्दिया र समाजका लागि युवाको सहकार्य धनगढी नामक संस्थाले करिब ८ लाख रुपैयाँको लगानीमा यो प्रविधि सञ्चालनमा ल्याएको मेचीनगर वडा नम्बर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए ।

उद्घाटनपछि प्रमुख अतिथि सभामुख घिमिरेले हात्तीको आतङ्कका कारण हरेक वर्ष मानिसको मृत्युसँगै हजारौँ घरपरिवार विस्थापित हुने गरेको बताए । देशका थुप्रै ठाउँमा जङ्गली हात्तीको समस्या भए पनि झापाका विभिन्न पालिका समेत त्यसबाट अछुतो नरहेको उनले बताए ।

झापाको मेचीनगर–४ स्थित बाहुनडाँगीमा जङ्गली हात्तीको समस्या ज्याँदै हुने गरेको उनले बताए । हात्तीका कारण ठूलो धनजनको क्षति, खेतीयोग्य जमिनको विनाससँगै जनजीवनमा ठूलो असर पारेको उनको भनाइ थियो । 

पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै मानिस व्यावहारिक रूपमै आफूलाई अनुकूल र सहज हुने ठाउँमा पुगेका कारण हात्ती आगमन सूचना प्रविधि केन्द्रले न्यूनीकरण गर्ने उनले विश्वास व्यक्त गरे । सर्वसाधारणलाई बस्तीमा हात्ती प्रवेश गरेको जनाउ दिने डिजिटल प्रविधिको प्रयोगले यो समस्या केही हदसम्म कम हुने भन्दै सभामुख घिमिरेले यसको भरपूर प्रयोग गर्न समेत स्थानीयवासीलाई अनुरोध गरे ।

बाहुनडाँगी भारतबाट नेपालमा हात्ती प्रवेश गर्ने मुख्य गौडा हो । जहाँ दैनिकजसो दर्जनौँको सङ्ख्यामा हात्तीहरू नेपाल प्रवेश गर्छन् ।