धरान । सुनसरीको इटहरी उपमहानगरपालिका २ आँपगाछी निवासी डा. राम्जी तिम्सिना बुधबारदेखि बेपत्ता भएका छन् । घरमा ‘म वराहक्षेत्रमा जल समाधि लिँदै छु । अलबिदा’ भनी लेखेर बेपत्ता भएका हुन् । 

उनी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक पनि हुन् । परिवारले उक्त चिर्कटो प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय इटहरीमा ‘खोजी गरिपाऊँ’ भन्दै निवेदन दिएका छन् । परिवारिक स्रोतका अनुसार घरका अन्य सदस्यहरु उठ्नु अगावै कम्प्युटर नजिक चिर्कटो राखेर बेपत्ता भएका थिए । खोजी कार्यका लागि परिवारले अपिल गरेको छ । 

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बुधबारै खोजी गरीपाऊँ भनी निवेदन आएको र खोजी कार्य जारी रहेको जनाएको छ । परिवारले फोटोसहितको हुलिया दिएको प्रहरीले जनाएको छ । सोको परीक्षण सम्पन्न भई खोजी कार्य गरिँदा मोबाइल अन नै रहेको र लागिरहेको जनाएको छ । “लोकेसन चाहिँ एउटै देखाइरहेको छ” इटहरी प्रहरीले भन्यो ।

डा. तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसनमा अध्यापनरत थिए । उनी धरान आउजाउ गर्दा सार्वजनिक सवारी साधन नै प्रयोग गर्दै आइरहेका थिए । उनी किन जल समाधि लिने अवस्थामा पुगे भन्ने विषयमा चाहिँ खुल्न सकेको छैन । परिवारले पनि यसबारे जानकारी गराएको छैन । उनले विगत केही वर्षअघि मात्रै डायस्पोरा विषयमा विद्यावारिधि गरेका थिए । विशेष गरी समालोचना क्षेत्रमा उनी रुचि राख्थे । 

उनी एक्कासि बेपत्ता भएपछि उनका शुभचिन्तकहरुले चिन्ता व्यक्त गरेका छन् । उनी हराएकोमा भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले चिन्ता व्यक्त गरे । उनले भने, “मान्छे राम्रो थियो, समालोचना राम्रो गर्न सक्ने क्षमता पनि थियो । मैले सुनेअनुसार पारिवारिक बेमेल रहेको थियो ।” 

सुनसरी प्रहरीका अनुसार वराहक्षेत्र मन्दिर आसपास क्षेत्रमा खोजी कार्य भइरहेको छ । बिहीबार साँझसम्म फोन लागिरहेका कारणले कहीँकतै लुकेर बसेका हुन सक्ने अनुमान गरिएको छ ।