धरान । बेलायतको फर्नबरोमा बस्दै आएकी सुनसरी धरानकी धनु गुरुङले क्यान्सर पीडितका लागि करिब एक लाख रुपैयाँ संकलन गरेकी छन् । 

ब्रिटिस हट फाउन्डेसनले आयोजना गरेको ९० किलोमिटर दूरीको साइकल यात्रमा सहभागी भई उनले रकम संकलन गर्न सफल भएकी हुन् । उनले संकलन गरेको रकम क्यान्सर परोपकारी संस्था म्याकमिलनलाई हस्तान्तरण गरेकी छन् । 

गत वर्ष उनले फाउन्डेसनमा आफ्नो नाम दर्ता गराएकी थिइन् । उक्त फाउन्डेसनले यस वर्ष आयोजनामा भाग लिनका लागि निमन्त्रणा गरेको थियो । उनले ९० किलोमिटर यात्रा ६ घण्टा ३० मिनेटमा सम्पन्न गरेकी थिइन् । लण्डनबाट सुरु भएको यात्रा ब्राइटन सहरमा पुगेर टुंगिएको थियो । 

उनले आफूले क्यान्सर पीडितलाई लक्षित गर्दै साइकल यात्रा पूरा गर्न सफल भएको बताइन् । उनले क्यान्सरबाट पीडितहरुलाई मल्हम लगाउन प्रयास गरेको बताइन् । उनले विगतको पीडादायी कुरा स्मरण गर्दै भनिन्, ‘बाल्यावस्थामै आफ्नो ममतामयी आमालाई क्यान्सरले गुमाउनुको पीडाले सताइरहन्छ । आमाको सम्झनामा हरेक वर्ष क्यान्सर रोगसँग सामना गरिरहेका पीडितहरुका लागि हौसला बढाउन यस्ता अभियानहरूमा सहभागी भइरहन्छु ।’

क्यान्सरबाट पीडित बालबालिकाहरूका लागि रकम संकलन गर्न दश हजार फिटमाथिबाट ‘स्काइडाइभिङ जम्प’ गरेकी थिइन् । उनलाई अभियानमा आफन्त तथा नजिकका मित्रहरूले सहयोग गरेका थिए ।