विराटनगर  । घटना १ः मोरङको पथरीशनिश्चरे नगरपालिका–२ नेवार टोलका ६५ वर्षीय लोकबहादुर श्रेष्ठ पेट दुखेर असह्य पीडा भएपछि विराटनगरस्थित लाइफगार्ड हस्पिटलमा ४ फागुनमा भर्ना भए । अस्पताल भर्ना भएपछि उनको किड्नीछेउमा पानीको फोका (सिस्ट) भएपछि अस्पतालका युरोलोजिष्ट डा.इकबाल अहमदले शल्यक्रिया गर्नुपर्ने सुझाव दिए । स्वास्थ्य बिमामार्फत् उनले उपचार गरे र तत्काल ल्याप्रोस्कोपी सर्जरी भयो । बिमामार्फत् शल्यक्रिया गरिएको ४६ हजार २ सय ८४ रुपैयाँ हस्पिटलले भुक्तानीको लागि दाबी ग¥यो । हस्पिटलले स्वास्थ्य बिमामार्फत् भुक्तानी दाबी गरेपछि उपचारमा लाग्ने इम्प्लान्ट खरिद गर्नुपर्ने र टिम व्यवस्थापनको लागि भन्दै बिरामीसँग उपचारमा संलग्न चिकित्सक इकबालले ४० हजार रुपैयाँ थप लाग्ने बताए ।

त्यसपछि लोकबहादुरका कान्छा छोरा भूपाल श्रेष्ठले बाबुलाई अप्रेसन थिएटरभित्र छिराएपछि उपचारमा संलग्न चिकित्सकले थप रकम मागेपछि दिने वचन गरे । ‘बुबाको शल्यक्रिया त भयो । तर, सफल भएन । फेरि शल्यक्रिया गरिनुपर्ने चिकित्सकले भनेका छन् । त्यसको लागि आउँदो असारको पहिलो हप्ता चिकित्सकलाई देखाउन विराटनगरमा आउँदैछु’ छोरा भूपालले भने, ‘बिमाबाट ४६ हजार रुपैयाँ लिएपछि पनि चिकित्सकले ४० हजार रुपैयाँ मागेका थिए । चिकित्सकको लापरबाहीले बाबुको शल्यक्रिया सफल नभएपछि चिकित्सकले माग गरेको थप रकम दिएनौँ । तर, अरू बिरामीका आफन्तबाट डाक्टर इकबाल अहमदले मनपरी तरिकाले रकम असुली गरेका छन् ।’

घटना २ः पथरीशनिश्चरे–२ की २९ वर्षीया निहा साम्बाको पनि असह्य पीडा हुने गरे दुखेपछि श्रीमान् सचित गुरुङले घरनजिकैको पथरी नगर अस्पतालमा लिएर गए । स्वास्थ्य बिमा भएकोले सचितले श्रीमतीलाई नगर अस्पताल ल्याए । नगर अस्पतालमा उपचार नभएपछि थप उपचारको लागि बिमा चल्ने हस्पिटल भनेर लाइफगार्डमा रेफर गरिदिए । सचितले श्रीमती निहालाई लिएर ४ फागुनमा लाइफगार्ड आए ।

हस्पिटल आएपछि युरोलोजिष्ट डा. इकबाल अहमदलाई देखाए । उनले किड्नीमा पथरी भएको बताएपछि शल्यक्रिया गर्न सुझाव दिए । ६ फागुनमा शल्यक्रिया भयो । डा. इकबालले चिरेर अप्रेसन गरेका थिए । तर, बिमा भुक्तानी दाबी गर्दा ल्याप्रोसकोपी सर्जरी गराएको कागजपत्र जुटाए । त्यो कुरा सचितले थाहा पाए । त्यसपछि हस्पिटलले प्राविधिक मिस्टेक भएको भन्दै हातले चिरेको अप्रेसन बनाइदिए । चिरेर गर्दाको भन्दा ल्याप्रोस्कोपीबाट गर्दा १८ हजार बढी रकम लाग्छ । त्यसैले चिकित्सकले ल्याप्रोस्कोपीको कागजपत्र जुटाएर बढी बिमाको भुक्तानी दाबी गर्न लागेका थिए ।

त्यसपछि १५ फागुनमा निहाको शल्यक्रिया गरेबापत बिमाबाट २८ हजार २ सय ८४ रुपैयाँ बिमा बापतको भुक्तानी हस्पिटलले लिएको छ । स्वास्थ्य बिमाबाट २८ हजार रुपैयाँ लिएपछि पनि चिकित्सक इकबालले निहाका श्रीमान् सचितसँग १५ हजार रुपैयाँ लिएका  छन् । 

‘बिमाबाट अप्रेसनको रकम लिएपछि पनि थप ३० हजार रुपैयाँ सुरुमा टिम चार्ज भन्दै मागेको थियो । पछि अप्रेसन हुँदा मैले विभिन्न चारवटा सामग्री लिएर गएपछि पछि १५ हजार फिर्ता गरिदियो’ सचितले भने, ‘बिमाबाट पनि अप्रेसनको चार्ज लिने र त्यसपछि बिरामीबाट थप रकम असुली लाइफगार्डका चिकित्सक इकबालले गर्दै आएका छन् । हामीले अप्रेसन थिएटरमा माग गरिएको रकमको बिल माग्दा पनि दिने गरेको छैन । त्यो बिल हुँदैन भन्दै रकम लिने गरेका छन् ।’

घटना ३ः पथरीशनिश्चरे–२  की ४० वर्षीया धनेश्वरी लिम्बूको समस्या पनि निहा साम्बाको जस्तै हो । किड्नीमा पथरी भएपछि साउन १२ गते लाइफगार्ड हस्पिटलमा आए । दूरबिनबाट उनको शल्यक्रिया गरेर पथरी डा. इकबाल अहमदले झिके । उनले स्वास्थ्य बिमाबाट स्वास्थ्य उपचारको रकम लिएपछि पनि बिरामीसँग थप ३० हजार रुपैयाँ लिएको धनेश्वरीको श्रीमान् मानबहादुर गुरुङले बताए । ‘सुरुमा ३६ हजार भन्यो । त्यसपछि आफू अपाङ्गता भएको व्यक्ति भनेपछि ६ हजार छुट गरेर ३० हजार रुपैयाँ डाक्टरलाई बुझाएको हुँ’ उनले भने, ‘चिकित्सकले भनेजति पैसा दिएन भने उपचार हुँदैन भन्दै पठाउने गरेको डरको कारणले बाध्य भएर थप पैसा दिनुप¥यो ।

उल्लेखित घटना प्रतिनिधिमूलक हुन् । लाइफगार्ड हस्पिटलका सञ्चालकसमेत रहेका युरोलोजिष्ट डा. इकबाल अहमदले अप्रेसनको नाममा बिरामीसँग मनलाग्दीरूपमा रकम असुल्ने गरेको उल्लेखित घटनाले पनि पुष्टि गरेको छ । स्वास्थ्य बिमाबाट अप्रेसनको भुक्तानी लिएपछि पनि चिकित्सक अहमदले बिरामीसँग अप्रेसन थिएटरभित्र सहयोगी राखेर थप मनलाग्दीरूपमा रकम असुली गर्ने गरेको पाइएको हो ।

‘बिरामीलाई अप्रेसन थिएटरमा पसाएपछि बिरामीका आफन्तलाई चिकित्सक इकबालको टिमले कुनै पनि अप्रेसनको नाममा ४० हजारबाट डिल गर्न सुरु गर्दछन् । त्यसपछि बिरामीको आर्थिक अवस्था हेरेर रकम बार्गेनिङ गर्दै थोरैमा १५ हजारसम्म लिएको हामीले देखेका छौँ’ बिरामीका आफन्त भूपाल श्रेष्ठले भने, ‘उता बिमाबाट पनि भुक्तानी दाबी गरेर लिन्छन् भने यता बिरामीबाट पनि असुली धन्दा गर्दछन् । यसरी बिरामीलाई लुट्ने चिकित्सकलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ ।’

अस्पताल प्रशासनमा पनि चिकित्सक इकबालले अप्रेसनको नाममा रकम असुली गरेको गुनासो बिरामीका आफन्तले लिएर आउने गरेको बताएका छन् । स्वास्थ्य बिमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितले स्वास्थ्य उपचारको नाममा दोहोरोरूपमा शुल्क लिन नमिल्ने बताए । स्वास्थ्य बिमाबाट पनि भुक्तानी लिने र बिरामीको आफन्तबाट पनि त्यही नाममा रकम लिने परिपाटी लगत भएको उनले बताए ।

कुनै पनि बिमितले लिखित उजुरी वा गुनासो गरे छानबिन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए । ‘उजुरी आएको खण्डमा हामी छानबिन गरेर कारबाही गर्नेछौं । स्वास्थ्य नियमवालीमा २४ घण्टाभित्र सम्बन्धित अस्पताललाई पत्र काटेर कारबाहीको प्रक्रिया अगाडि बढाउने अधिकार स्वास्थ्य बिमा बोर्डलाई रहेको छ’ उनले भने, ‘हामी त्यस विषयमा प्रक्रिया अगाडि बढाउनेछौँ ।’

वैशाख १ गतेबाट सरकारी अस्पतालले १० प्रतिशत र निजीमा २० प्रतिशत बिमितले भुक्तानी गर्नुपर्ने नियम बनाएको छ । यता लाइफगार्ड अस्पतालका युरोलोजिष्ट डा. इकबाल अहमदले बिरामीसँग इक्युप्मेन्ट र इम्प्लान्टबाहेक अरू कुनै पनि नाममा पैसा नलिएको दाबी गरेका छन् ।