इनरुवा । सुनसरी प्रहरीले स्टिङ अप्रेसन चलाएर गाई काट्ने व्यक्तिलाई रङ्गेहात पक्राउ गरेको छ ।

गाईगोरु काटेर मासु बेचबिखन भैरहेको सूचनाका आधारमा परिचालित प्रहरी टोलीले इनरुवा–३ महेन्द्र्रचोकको बख्खु टोलबाट गाई काट्दै गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको हो । प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीका अनुसार प्रहरी टोलीले घटनास्थलबाट फेकु महम्मदलाई पक्राउ गरेको छ । डिएसपी भण्डारीले उक्त स्थानबाट एक गाई र अर्को गोरु काटेको फेला परेको बताए ।

काटेर टुक्राउँदै गरेको मासुसमेत बरामद गरी पक्राउ परेका व्यक्ति उपर कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको भण्डारीले बताए । विशेष सूचनाका आधारमा पुग्दा केही व्यक्ति भागेको प्रहरीले जनाएको छ । गाई, गोरु काट्ने कार्यमा संलग्न भई फरार रहेकाहरूको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले अन्य विषयमा भने अनुसन्धान जारी रहेको जनाएको छ ।

उक्त प्रहरी अप्रेसनको समाचार सङ्कलन गर्न पुगेका स्थानीय पत्रकार तथा हिन्दु धर्म संरक्षण अभियानका अभियन्ता गणेश यादवले घटनास्थलमा आफूमाथि आक्रमणको प्रयास भएको बताए । सार्वजनिक प्रतिक्रिया दिएका पत्रकार यादवले बख्खु टोलमा लामो समयदेखि गाईगोरु काट्ने गरेको स्थानीयबाटै गुनासो आउने गरेको बताए ।

प्रहरी पुग्दा आफूसमेत समाचार सङ्कलनको लागि पुगेको बताएका यादवले गाई काट्दै गरेको देखेपछि भिडियो बनाउन खोज्दा आफूमाथि आक्रमणको प्रयास भएको बताए । केही व्यक्ति सोही क्रममा भागेको उनले बताए । यादवले राँगा भनेर गाईगोरु काटी बेच्ने गरेको जानकारी आफूले समेत पाएको बताए ।