विराटनगर । सरकारी कागज कीर्ते गरेर अंशबण्डाको जमिन एकलौटी बनाउने मोरङ रङ्गेली नगरपालिका–४ का ३१ वर्षीय राजकिशोर साह पक्राउ परेका छन् । प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई कीर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । अंशियारलाई एकलौटी पार्न सहयोग गरेको भन्दै रङ्गेली नगरपालिका–४ का वडाध्यक्ष अवधेश मण्डलसहित १३ जनाविरुद्ध १ जेठमा मोरङ प्रहरीमा उजुरी दर्ता भएको छ । उजुरी दर्ता भएपछि मोरङ अदालतले वडाध्यक्ष मण्डलसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी हुँदा पनि वडाध्यक्ष मण्डल पक्राउ परेका छैनन् । उनी अहिले पनि रङ्गेलीमा रहेका छन् । रङ्गेली–४ आमतोलाका ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा उनकी जेठी पत्नीका छोरालाई छलेर कान्छी पत्नीको नाममा ल्याउन रङ्गेली–४ का वडाध्यक्ष मण्डललाई आर्थिक प्रभावमा पारेर एकपक्षीय अंशियारका नाममा नामसारी गरेको जेठीतर्फका छोरा वीरेन्द्र साहले उजुरी गरेका थिए ।

रामप्रसाद साहको नाममा साविक गाविस रङ्गेली–८ को नक्सा सिट नं. १७८०७१८ को किता नं. १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्गमिटरको जग्गा जेठी पत्नी कलावतीका सन्तानलाई छलेर कान्छी पत्नी कौशिलाका छोरालाई मात्र अंशबण्डा गर्न सरकारी कागजपत्र कीर्ते गरेको विरोधमा उजुरी परेको थियो । उक्त जग्गाको मूल्य अहिले करिब तीन करोड पर्ने बताइएको छ । रामप्रसाद साहको ८ वैशाख २०७९ मा मृत्यु भएपछि कान्छी पत्नीका छोरा राजकिशोरले बाबुको मृत्यु भएको १३ औँ दिनमा मृृत्यु दर्ता बनाए । बाबुको मृत्यु भएपछि काजकिरिया सकिएकै दिन १३ औं दिनमा एकलौटीरूपमा आफूले मात्रै अंश लिने उद्देश्यले रङ्गेली ४ नं. वडा कार्यालयबाट २१ वैशाख २०७९ मा मृत्युदर्ता बनाए । त्यसपछि जेठीपट्टिका छोरा वीरेन्द्रलाई २६ भदौ २०६५ मा ५० हजार रुपैयाँ अंश दिएको देखाएर कान्छीतर्फका छोरा राजकिशोरले बाबुको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याउन सर्जमिन मुचुल्का बनाए ।

५ फागुन २०७९ मा एकल अंशियार देखाई राजकिशोरले सर्जमिन मुचुल्का उठाए । उक्त सर्जमिन मुचुल्कामा उपप्रमुखका पति गणेश निरौला, विनोदकुमार मण्डल, अनिल मण्डल, दिनेश मण्डल, अजयप्रसाद साह, धीरजकुमार मण्डल र प्रमानन्द मण्डलले हस्ताक्षर गरिदिए । त्यसपछि १७ साउन २०८० मा राजकिशोरको मन्जुरीमा उनकी आमा कौशिलादेवी साहको नाममा मृत्यु भएको बाबु रामप्रसादको जग्गा र घर नामसारी गरिदिन मालपोत कार्यालय रङ्गेलीलाई वडाध्यक्ष अवधेशकुमार मण्डलले सिफारिस बनाइदिए । वडाले दिएको उक्त सिफारिसको आधारमा मालपोत कार्यालय रङ्गेलीले १८ साउन २०८० मा कौशिलादेवी साहको नाममा जग्गा नामसारी गरेको देखिएको छ ।

बाबुको नाममा रहेको जग्गा एकलौटीरूपमा राजकिशोरले आफ्नी आमा कौशिदेवीको नाममा ल्याएको १० महिनापछि मात्रै जेठीपट्टिका छोरा वीरेन्द्रकुमार साहले थाहा पाए । उक्त जग्गा बैङ्कमा राखेको थाहा पाएपछि मात्रै वीरेन्द्रले आफ्नो बाबुको नाममा रहेको जग्गा अंशबण्डा नै नगरी कान्छीआमातर्फका छोरा राजकिशोरले जनप्रतिनिधि र बिचौलिया प्रयोग गरी एकलौटी आफ्नो नाममा ल्याएको कुरा गत वैशाखमा मात्र थाहा पाएका हुन् । एकलौटीरूपमा बाबुको अंश कान्छीतर्फका छोराले मात्र लगेको पत्तो पाएपछि वीरेन्द्रले मालपोतमा गएर हेर्दा सरकारी कागजपत्र कीर्ते गरेको पत्तो पाएका हुन् । त्यसपछि उनले वडाध्यक्ष अवधेशकुमार मण्डलसहित १३ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा सरकारी कागजपत्र र छाप कीर्ते मुद्दामा १ जेठमा जाहेरी दर्ता गराएका थिए ।

अंशियारलाई एकलौटी पार्न सहयोग गर्ने र अहिले पक्राउ सूचीमा कीर्तेमा सहभागी भएर साक्षी बसेका रङ्गेली नगरपालिकाका उपमेयर झुमा पराजुली (निरौला) का पति गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रङ्गेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलासहित १३ जना छन् । जिल्ला अदालतले जेठ ९ गते पक्राउ आदेश जारी गरेको थियो ।