धरान । मोरङको मिक्लाजुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ ।

गाउँसभाको चौधौँ अधिवेशनले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नीति तथा कार्यक्रममा आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्ततर्फ पाइला चाल्ने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढाउने लगायत छन् । त्यस्तै स्थानीय पूर्वाधार विकास, स्थानीय सहभागिता जुटाउने, स्थानीय स्रोत साधन र सीपको अधिकतम् प्रयोग गरिने, लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि गरिने, प्राकृतिक स्रोतको दिगो उपयोग तथा विपद् व्यवस्थापनका लागि पहल गर्ने रहेका छन् ।

आगामी वर्षको नीति तथा कार्यक्रमका रणनीतितर्फ प्राथमिकता तथा आवश्यकताका आधारमा नीति तथा नीति अनुरूप आय–व्ययको अनुमान तयार गरिने, स्थानीय नीति तथा कार्यक्रमलाई राष्ट्रिय तथा प्रादेशिक नीतिसँग आबद्ध गरिने जनाइएको छ । बजेटको विश्वसनीयता तथा प्रभावकारिता बढाउन स्रोत अनुमानलाई वास्तविक बनाउनुका साथै बजेटमा संरचनात्मक सुधार गरिने जनाइएको छ ।

चालु खर्चलाई बाञ्छित सीमाभित्र राख्दै चालु तथा पुँजीगत खर्चलाई सन्तुलन गरिने जनाएको छ । लाभ लागत विश्लेषण तथा वास्तविक आवश्यकताका आधारमा पूर्वाधार आयोजना छनौट गरिने भएको छ । कार्यक्रम तथा आयोजना छनौटमा दोहोरोपना तथा खाडल हटाइने तथा अधुरा आयोजना सम्पन्न गरिने जनाएको छ । यस्तै अनुगमन तथा मूल्याङ्कनलाई वस्तुनिष्ठ बनाइने भएको छ । दिगो विकासको लागि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।

यसैबीच चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण पनि सार्वजनिक गरेको छ । भौतिक पूर्वाधारतर्फ यामचोक खोलीटार सडक, मावा खोला नाइटेवानी मलामी टहरा सडक, मिनेचोक भण्डारीचोक सडकजस्ता दीर्घकालीन महŒवका सडकहरू कालोपत्रे गर्ने काम भएको जनाएको छ । विभिन्न ठूला परियोजनाहरूका लागि सङ्घ तथा प्रदेश सरकारसँगको समन्वय र साझेदारीमा विस्तृत आयोजना प्रतिवेदन निर्माण गरी कार्य सुरुवात गरिएका छन् । कृषि विकासतर्फ मौरी, धान, च्याउ र केरा पकेट क्षेत्रको विकास कार्यक्रम सम्पन्न भई पकेट क्षेत्र सञ्चालन गरिएको छ ।

पशुपंक्षी विकास तथा सेवा अन्तर्गत रेबिज भ्याक्सिनेसन खरिद गरी प्रयोगमा ल्याइएको, घुम्ती पशुशिविर तथा औषधि वितरण कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । यस्तै शिक्षातर्फ यसै वर्षदेखि कक्षा ११–१२ मा विज्ञान विषयको पठन–पाठन सुरु गरिएको, बहुप्राविधिक शिक्षालय सञ्चालनको पूर्वतयारी गरिएको छ । एक सय ५९ जना विद्यार्थी उच्च शिक्षा छात्रवृत्ति प्राप्त गरी मिक्लाजुङ क्याम्पसमा अध्ययन गरिरहेको जनाएको छ । स्वास्थ्य क्षेत्रमा यस वर्षदेखि मधुमल्ला अस्पतालबाट ओपिडी सेवा, प्रयोगशाला सेवा, स्वास्थ्य बिमा कार्यक्रम, एक्स–रे सेवा र भिडियो एक्स–रेजस्ता नियमित सेवा दिएको जनाएको छ ।

न्यायिक समितितर्फ संविधानको धारा २१७ बमोजिम प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको, दर्ता भएका अत्यधिक उजुरीको निरूपण गरिएको, ३ वटा सम्बन्धित निकायमा पठाइएको जनाएको छ । पञ्जीकरण तथा सामाजिक सुरक्षा अन्तर्गत एक हजार पाँच सय ६८ घटना दर्ता गरिएको छ । यता हालसम्मको खर्च विवरण भने सोचेअनुरूप भएको पाइएको छैन । पूर्वाधारतर्फ हालसम्म २२ दशमलव १५ प्रतिशत मात्रै खर्च भएको अवस्था छ । सामाजिक विकासमा ५७ दशमलव २२, आर्थिक विकासमा ३९ दशमलव ८१, सुशासन तथा  अन्तरसम्बन्धित क्षेत्रमा ३१ दशमलव ३४ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६६ दशमलव ५ प्रतिशत गरी कुल ४४ दशलमव २४ प्रतिशत मात्रै खर्च भएको अवस्था छ ।