विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–३ मङ्गलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका दुई जना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ ।

अस्पतालमा कार्यरत मेडिकल अफिसर मोरङ पथरीशनिश्चरे नगरपालिका–१ का २५ वर्षीय ब्रोदिनस बुढाथोकी र अनिलकुमार यादवलाई स्थानीय युवाहरूले कुटपिट गरेका हुन् । ३ जेठमा दिउँसो खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि मङ्गलबारेका सुमन श्रेष्ठ, सितलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको आरोप छ ।

उनीहरूले डा. बुढाथोकीमाथि पुरानो रिसइबीलाई लिएर आक्रमण गरेको उनले बताए । हस्पिटलमा उपचारकोक्रममा विवाद भएपछि डाक्टर बुढाथोकीमाथि आक्रमण भएको बुझिएको छ । ‘केही दिनअगाडि डा. बुढाथोकीलाई हामी लोकल मान्छे हो । हामीलाई छिटो लाइनमा नबसी उपचार हुनुपर्छ भन्दै आएका थिए । उनीहरूमध्ये सितलराज गिरी चिकित्सक बस्ने कुर्सीमा आएर बसे । मैले यो डाक्टर बस्ने कुर्सी हो । यहाँ नबसिदिनुहोला भन्दा बाहिर आउनू म देखाइदिन्छु भन्दै गए । पछि खाजा खाएर फर्किने क्रममा ममाथि आक्रमण भयो’–डाक्टर बुढाथोकीले सुनाए । ट्रमा सेन्टरमा उनी २०८० असोज २९ गते नियुक्त भएका हुन् ।

त्यसैगरी ७ जेठमा आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डा. यादवलाई आक्रमण गरेको बताएका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका  प्रमुख इन्स्पेक्टर देवेन्द्र दासले अभद्र व्यवहारमा जाहेरी दर्ता भएको बताए । जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति पत्र पनि आइसकेकाले आक्रमणमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आक्रमण गर्नेहरू फरार रहेका छन् । खोजी कार्य तीव्र बनाएको मोरङ प्रहरीले जनाएको छ ।

आजदेखि ओपिडी सेवा बन्द
चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि निरन्तरण आक्रमण भएपछि अस्पताल प्रशासनले ओपिडी सेवा एक घण्टा बन्द गर्ने भएको छ । बुधबार अस्पतालको ओपिडी  सेवा बन्द गर्ने अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले निर्णय गरेका हुन् ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरू असुरक्षित भएकोले शान्ति सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरूले ओपिडी सेवा बन्द गर्ने निर्णय मङ्गलबार गरेका हुन् । उनीहरूले चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही नगरेपछि ओपिडी सेवा बन्द गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने चेतवनी दिएका छन् । पहिलो दिन १० बजेदेखि ११ बजेसम्म ओपिडी सेवा बन्द हुनेछ । त्यसपछि विरोधस्वरूप हातमा कालो पट्टी बाँधेर काम गर्ने उनीहरूले गरेको निर्णयमा उल्लेख छ ।