भद्रपुर । गोदामबाट सशस्त्र प्रहरीले बिलविजक भएको ४८ लाख मूल्य बराबरको लत्ताकपडा जबरजस्ती उठाएर लगेको व्यापारीले आरोप लगाएका छन् ।

ए.के.सप्लायर्सले कचनकवल गाउँपालिका–६ बनियानीस्थित जमनाल मियाँको घर भाडामा लिएर राखिएको गोदामबाट सशस्त्र प्रहरीले बिलविजक भएको लत्ताकपडा जबरजस्ती उठाएर व्यापारीमाथि ज्यादती गरेको दाबी गरेका छन् । सोमबार दिउँसो करिब १ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म घेराबारीका डिएसपी प्रभातकुमार गौतम नेतृत्वको टोलीले सप्लायर्सका सञ्चालक अरुण साह बानियाँको सामान राखिएको मियाँको घर गोदाम घेराउ गर्न पुगेको थियो । सशस्त्र प्रहरीले गोदाममा छापा मार्न लागेपछि व्यापारीसँग विवाद भएको थियो । उत्पन्न विवादपश्चात् सञ्चालक साहले राजस्वका कर्मचारी आए मात्र गोदाम खोल्न दिने अडान राखे ।

लगत्तै सशस्त्रले आन्तरिक राजश्व कार्यालय भद्रपुरलाई खबर गरे । राजस्वका कर अधिकृत तिलक थापा मगर र नायव सुब्बा विशाल काफ्ले घटनास्थल पुगे । त्यसपछि राजस्व कर्मचारीको उपस्थितिमा गोदाम खोलेर बिलविजकअनुसारको सामान चेकजाँच गर्न सुरु गरे । तर, राजस्वका कर्मचारीले बिलविजकअनुसारको सामान यकिन गर्न नसकेपछि छाडेर हिँडेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

गोदाम दर्ता नभएको र बिलअनुसारको सामान तलमाथि भएको शङ्का लागेपछि सशस्त्रलाई जिम्मा लगाएर कर्मचारी फिर्ता आएको कार्यालयले जनाएको छ । यता व्यापारी साहले भने बिल देखाउँदा पनि सशस्त्रले जबरजस्ती सामान लगेको दाबी गर्छन् । बनियानी बजारमै कपडाको खुद्रा र थोक दुवै बिक्री गर्दै आइरहेको व्यापारी साहले बताए । पसलको सामान मियाँको घर भाडामा लिएर राखेको उनको भनाइ छ । गोदाममा अनुज टे«डिङ एण्ड सप्लायर्स भद्रपुर र जय श्री दुर्गा भवानी स्टोर बिर्तामोडबाट खरिद गरी ल्याएको सामान राखिएको उनले बताए । दुवै बिक्रेताको बिजविजक देखाउँदा पनि सशस्त्रले सामान बरामद गरी ज्यादती गरेको उनको आरोप छ ।

बिलविजक भएको सामान राजस्व अनुसन्धान कार्यालय इटहरी लैजानु पर्नेमा सशस्त्रले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको उनले बताए । सशस्त्रका डिएसपी गौतमले सबै सामान उल्लेखित भ्याट बिलको ओसी लगेको उनले दाबी गरे पनि भन्सारमा बिल विनाको सामान बुझाएको साहले जानकारी पाएपछि डिएसपी गौतमले लगेको बिल कहाँ गयो भन्दै गौतममाथि प्रश्न गरेका छन् । उनले सशस्त्रले व्यापारीमाथि प्रतिशोध साधेको आरोप लगाएका छन् । सशस्त्रले बेवारिसे अवस्थामा भेटिएको भनी सामान भन्सारमा बुझाएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले बताए ।

सशस्त्रले बिलविजक भने भन्सारमा नबुझाएको उनको भनाइ छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी बिदामा रहेका कारण उनी आएपछि मात्र थप अनुसन्धान गरिने उनले जानकारी दिए । व्यापारीसँग सामानको बिलविजक छ भने सामान भन्सारमा नभई राजश्व अनुसन्धान कार्यालय इटहरी पठाउनुपर्ने हुनसक्ने उनको भनाइ छ ।  

सशस्त्रले भारतवाट अवैधरूपमा चोरी तस्करी गरी लुकाईछिपाई गोदाममा राखिएको भन्दै २३ पोका कपडा ४८ लाख १८ हजार ७ सय मूल्य तोकेर सोमबार नै मेची भन्सार कार्यालयमा बुझाएको छ । अवैधरूपमा भण्डारण गरी राखिएको शङ्का लागेपछि सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल गण २ झापाका सूचना अधिकारी  दिनेश कटवालले जनाए । बिलविजकको विषयमा आफूलाई जानकारी नभएको उनले बताए । धेरै दिनको निगरानीपश्चात् सामान बरामद गरी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको उनले जानकारी दिए ।