नरसिंह भगवान् मन्दिर संरक्षण समितिका अध्यक्ष टोमप्रसाद आचार्यले मन्दिरका जग्गा व्यक्तिका नाममा लानका लागि फर्जी कागजात बनाइएको भेटिएको बताएका छन् ।

धरान–१४ दुई धारेमा दक्षिणतर्फ रहेको नरसिंह भगवान् मन्दिरलाई धरानका आचार्य परिवारले दानमा दिएको हाल धरान–६ पानबारीमा रहेको ७ कठ्ठा १० धुर जग्गा छ । उक्त जग्गा हडप्न दलालहरूले फर्जी कागजात बनाएको अध्यक्ष आचार्यले बताए । फिल्डबुकमा लालबहादुर थापा मगरका नाममा देखिएको जग्गा कित्ता नम्बर १२४ भएको बताउँदै भने, ‘कित्ता नं. १२५ को कित्ता नम्बरमा खाली छ । दलालले फर्जी कागजात बनाए ।’

अध्यक्ष टोपप्रसादले सुरुमा वडाध्यक्ष भूपेन्द्र भट्टराईसहित मालपोत कार्यालय धरानका प्रमुख राजेशप्रसाद पोखरेलसँग छलफल गरेको बताउँदै भने, ‘अध्यक्षले मन्दिरको जग्गा रहेछ । म सिफारिस गर्दिनँ भनेको थिएँ ।’ सबै प्रमाण मन्दिर व्यवस्थापन समितिसँग रहेको अवस्थामा वडाध्यक्षले किन सिफारिस दिए भन्ने प्रश्न उठेको उनको भनाइ छ । 

वडाध्यक्ष भट्टराईले नगर प्रमुख हर्कराज राईसँगको छलफलमा प्रमाणका आधारमा कानून र विधिअनुसार सिफारिस गरेको दाबी गरेका थिए । छलफलमा वडाध्यक्ष भट्टराईले सिफारिस नदिने भने पनि पछि उनकै सिफारिसमा एक्कासि ब्लाष्टमा सूचना प्रकाशित भएपछि आफू छक्क परेको आचार्यले बताए ।

मालपोत कार्यालय धरानका प्रमुख राजेशप्रसाद पोखरेलले आफूसँग लालबहादुरले आफ्नै जग्गा भएको भनेको बताउँदै सबै पक्षलाई बोलाएर छलफल गराउने बताए । २०२७ असार ३ गते तत्कालीन कोष तहसिल कार्यालय सुनसरी इनरुवाको धरौटी रसिदमा पनि नरसिंह मन्दिरले नै रकम बुझाएको देखिएको छ । उक्त समयमा मन्दिरको जग्गा १३ कठ्ठा थियो । सोही जग्गाबाट काटेर लालबहादुरलाई दिएपश्चात् ७ कठ्ठा १० धुर रहेको अध्यक्ष आचार्यले बताए ।

गत माघमा नेपाल सरकारले छुट जग्गा दर्ताका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गरेपछि सो जग्गामा तीन जनाले दाबी गरेका छन् । मन्दिर व्यवस्थापन समिति र धरान–८ की लक्ष्मीदेवी मगर्नीले समेत उक्त जग्गा आफ्नो बाजे लालबहादुर मगरको भएको दाबी गर्दै निवेदन दिएकी छन् । उनले २०७५ पुष १३ गते नै धरान–८ को वडा कार्यालयबाट सर्जमिन गर्दै जग्गा आफ्नो बाजेको भएको दाबी गरेकी छन् ।