डाका र ‘ज्यान मार्ने उद्योग’ मा विराटनगर–१४ का पूर्व वडाध्यक्ष ६५ वर्षीय बलदेव यादवसहित ९ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा बुधबार दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबानाको माग दाबी राखेर अभियोग दर्ता गरेको हो । 

यो मुद्दामा विराटनगर–१४ का ४३ वर्षीय जतुवाका फुलेश्वर यादव पक्राउ परेका छन् । पूर्ववडाध्यक्ष यादवसहित अन्य आठ जनालाई फरार प्रतिवादी बनाएर अभियोग दायर भएको छ । जसमा विराटनगर–१४ जतुवाका ३२ वर्षीय दिपेश यादव, ३१ वर्षीय राजौ भन्ने राजेश यादव, ४६ वर्षीय उपनारायण यादव, ४२ वर्षीय शङ्कर यादव, ६५  वर्षीय धनपत यादव र  ३४ वर्षीय जोगिलाल भन्ने योगीलाल यादवविरुद्ध मुद्दा दायर भएको छ । मुद्दा दर्ता भएकाले आज (बिहीबार) थुनछेक बहस हुने मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । उनका अनुसार प्रतिवादीको बयान सुरु भएपछि इजलास तोकेर थुनछेक हुनेछ । 

गत २९ चैतमा विराटनगर–१४ का पूर्व वडाध्यक्ष बलदेवको योजनामा ९ जनाको समूहले विराटनगर–१४ का ४० वर्षीय सन्तलाल यादव र सोही ठाउँका ३० वर्षीय प्रकाश यादवमाथि तरवार प्रहार गरेको पीडितको आरोप छ । तरवार प्रहारबाट सन्तलाल गम्भीर घाइते छन् । उनको अहिले पनि विराट टिचिङ हस्पिटलमा उपचार हुँदै आएको छ ।

पीडित परिवारले घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेपछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको थियो । 

आक्रमणको योजना बनाएको आरोप लागेका पूर्व वडाध्यक्ष बलदेव यसअघि पनि कर्तव्य ज्यान मुद्दामा मुछिएका थिए । विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवको हत्या आरोपमा उनीसहित मोरङ प्रहरीले १० जनालाई ‘कर्तव्य ज्यान मुद्दा’ का प्रतिवादी बनाएको थियो । २०७७ मङ्सिर ११ गते मोरङ अदालतका तत्कालीन न्यायाधीश तेजबहादुर खड्काको इजलासले यादवलाई तीन लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएका थिए । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी रहेका यादव हत्या आरोप लागेपछि वर्षौंसम्म फरार रहे । प्रहरीको तीव्र खोजीमा रहेका यादव लामो समयदेखि भारतमा बसोबास गरेको कारणले उनी पक्राउ परेका थिएनन् । मोरङ अदालतमा सुटुक्क उपस्थित भएकै दिन थुनछेक आदेश भयो । त्यसपछि उनी धरौटीमा छुटेका थिए ।

विवाहको विषयमा विवाद हुँदा  २०७६ साल जेठ ३ गते  विराटनगर महानगरपालिका–१४ का वडाध्यक्ष यादवको घरमा बसेका पञ्चायतीले विराटनगर–१४ का ५५ वर्षीय समानन्द यादवमाथि निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट घाइते यादवको एक महिनापछि २०७६ साल असार २६ गते मृत्यु भएको थियो । यादवका परिवारले घटनामा संलग्न भएको आरोपमा तीनजना वडाध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।