विराटनगर /मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित पञ्चायत मा।वि।मा दृष्टिविहीन राहत कोटा हटाएर खुल्लातर्फबाट शिक्षक नियुक्तिको लागि खुलाएको विज्ञापन रद्द भएको छ।

चौतर्फीरूपमा विरोध भएपछि विद्यालयले दृष्टिविहीन राहत कोटालाई कायम गरी शिक्षक नियुक्तिको लागि विज्ञापन आह्वान गर्ने भएको हो । विगत १८ वर्षदेखि रहेको प्राथमिक तह तृतीय श्रेणी अपाङ्ग दृष्टिविहीन राहत कोटाको दरबन्दी हटाएर खुल्लातर्फबाट शिक्षक नियुक्ति गर्ने उद्देश्यले विद्यालयले २७ चैत २०८० मा आवेदनको अन्तिम मिति राखेर १३ चैतमा शिक्षक नियुक्तिको विज्ञापन आह्वान गरेको थियो।

 विद्यालयले अपाङ्गता राहत कोटा हटाएर खुल्लाबाट शिक्षक नियुक्तिको तयारी गरेको पाइएपछि नेत्रहीन युवा सङ्घ मोरङ र राष्ट्रिय अपाङ महासङ्घ कोशी प्रदेशले विरोध जनाएको थियो । उनीहरूले विद्यालय र नगरपालिको शिक्षा महाशाखामा पनि ज्ञापन–पत्र बुझाएका थिए । चौतर्फी विरोध भएपछि विद्यालयले खुल्लाबाट राहत शिक्षक नियुक्तिको प्रक्रिया तत्काललाई स्थगित गरेको छ।

पञ्चायत मा.वि।का प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले अपाङ्ग राहत कोटा नै कायम गरेर विज्ञापन आह्वान हुने बताए। ‘दरबन्दी मिलानमा केही समय लाग्नेछ । त्यसपछि नयाँ विज्ञापन आह्वान हुनेछ’–उनले भने । नेत्रहीन युवा सङ्घ मोरङका अध्यक्ष दुर्गानाथ योगीले दृष्टिविहीन राहत कोटा पञ्चायत मा।वि।मा कायम गर्ने सहमति भएको बताए। ‘खुल्लाबाट नियुक्ति गर्ने विज्ञापन रद्द गरिने र नयाँ विज्ञापन आह्वान गर्ने सहमति भएको छ’ उनले भने, ‘विद्यालयले केही दिनभित्रमा दृष्टिविहीनबाटै शिक्षक नियुक्तिको लागि विज्ञापन आह्वान हुनेछ ।’

५ पुस २०७७ मा अपाङ्ग दृष्टिविहीन राहत कोटाबाट सुन्दरहरैँचा नगरपालिका–११ का हरिबहादुर कार्कीलाई नियुक्त गरिएको थियो । दृष्टिविहीन शिक्षक कार्कीले स्थायीमा नाम निकालेपछि पञ्चायतमा अपाङ्ग दृष्टिविहीन राहत कोटाबाट नियुक्त हुने शिक्षक रिक्त रहेको थियो । पथरीशनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले १ फागुन २०८० र ७ चैतको अनुमति पत्रका आधारमा १३ चैतमा पञ्चायत विद्यालय व्यवस्थापन समितिको बैठकले अपाङ्गता दृष्टिविहीन राहत कोटा हटाएर खुल्लाबाट शिक्षक छनौट गर्ने तयारी गरेको थियो।