परीक्षा दिएर कोठातर्फ गइरहेकी एक छात्रामाथि गोली प्रहार भएको छ । उदयपुर घर भई झापा दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमकस्थित हिमाली मा.वि.बाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठाननजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । गोली चलेको विषयमा अनुसन्धान भइरहेको उनले बताए । उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ । उनलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पतालमा लगिएको थियो । उनको अवस्था सामान्य रहेको जनाइएको छ । 

उनीमाथि सिराहा घर भएका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । एनिकाले केही समयअघि एकजना विरुद्ध उदयपुर जिल्ला अदालतमा बलात्कार र मानव बेचबिखनको मुद्दा दायर गरेको अनुसन्धानको क्रममा खुलेको छ । सोही व्यक्तिले नै उनीमाथि गोली प्रहार गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आरोपी यादवलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ ।