विजयपुर । सुनको सिक्री तानेर भाग्दै गर्दा एक जना पक्राउ परेका छन् ।

सोमबार झापा मेचीनगर नगरपालिका–१३ श्रीनाथ पेट्रोल पम्पनजिक पूर्व–पश्चिम राजमार्गमा पैदल हिँडिरहेकी महिलाको घाँटीबाट सुनको सिक्री तानेर भाग्दै गर्दा एक जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर–१३ तोरीबारीका ३९ वर्षीय दिवस राजवंशीलाई पक्राउ गरिएको हो । उनले १ तोलाको सुनको सिक्री तानेर भाग्ने प्रयास गरेका थिए । उनलाई सिक्री र साइकलसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले झापा मेचीनगर नगरपालिका–१२ सरेडाँगीकी २१ वर्षीया रचना आङ्देम्वेको सिक्री तानेर भागेका थिए ।

चोरीमा संलग्न राजवंशीलाई प्रहरी चौकी चारआली, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

लागूऔषधसहित १ पक्राउ
खैरो हिरोइनसहित एक युवालाई झापा प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार झापा बिर्तामोड नगरपालिका–३ बाट २५ वर्षीय रोशन थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए । उनका अनुसार थापालाई ३९ ग्राम १० मिलिग्राम खैरो हिरोइनसहित बिराट आदर्श टोलबाट पक्राउ गरेको हो ।

उनी बैतडी दशरथचन्द नगरपालिका–८ त्रिपुरा सुन्दरीबासी हुन् । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो । झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।