धरान । मलामी गएका व्यक्तिले चिर्पट प्रहार गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।

सोमबार दिउँसो २ बजे बृहत् मुक्तिघाट क्षेत्र विकास समितिमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिका–४ गैरीगाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाइते भएका विनोद तामाङको उपचारको क्रममा वेदान्त हस्पिटल इटहरीमा सोमबार दिउँसो मृत्यु भएको हो ।

घटनामा संलग्न उमेशलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको र फरार रहेका अनिलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।