इनरुवा । भुटाहा घटनाका सन्दर्भमा गाउँबासी समक्ष हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले माफी मागेका छन् ।

कुटपिटको घटनापछि सिर्जित घटनाक्रमप्रति दुःख व्यक्त गरेका अध्यक्ष अन्सारीले गाउँबासीमा पर्न गएको चोटप्रति माफी मागेका हुन् । भुटाहास्थित निवासमा पत्रकार सम्मेलनको आयोजना गरी अन्सारीले अध्यक्षको नाताले गाउँबासीको आफू अभिभावक रहेको भन्दै कार्य सम्पादनको सवालमा भूलवश कमीकमजोरी भए सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

अन्सारीले भनेका छन्, ‘गाउँपालिकाका सबै जनता मेरा हुन् । म उनीहरू सबैको अभिभावक हुँ । केहीले मेरो भूमिकाप्रति प्रश्न उठाएका छन् । कमी कमजोरी भएमा त्यसलाई सुधारेर सबै पक्ष र समुदायसँग हातेमालो गरी अघि बढ्ने प्रतिबद्धता जनाउँछु ।’ अध्यक्ष अन्सारीले गाउँपालिकाले सबै पक्ष र समुदायलाई समेटेर विकास निर्माणलगायतका कार्यलाई अघि बढाउँदै आएकोमा त्यसलाई थप प्राथमिकताका साथ अघि बढाउने बताए । सबै जातजाति, धर्म र संस्कृतिको संरक्षणमा आफू र आफ्नो पालिकाको तर्फबाट यथेष्ट साथ एवम् सहयोग रहने प्रतिबद्धतासमेत उनले जनाए ।

अन्सारीले हिन्दुहरूको पवित्र पर्व महाकुम्भमा समेत आफूले सहयोग गर्ने बताए । उनले पालिकामा आपसी एकता र सद्भाव कायम राख्ने सवालमा आफूले नेतृत्व लिएर अघि बढ्ने बताए । अन्सारीले कुटपिटको घटनामा घाइते भएका जीवन मेहतासहितको स्वास्थ्य अवस्था बुझेर उपचारमा आवश्यक सहयोग गर्नेसमेत बताए । उनले उक्त घटना र त्यसपछि सिर्जित दुई समुदायबीचको मनमुटावको परिस्थितिलाई सबैको पहलमा सौहाद्र्रपूर्ण तवरले समाधान खोजिनेसमेत बताए । अन्सारीले कार्यपालिकाबाटै निर्णय गरी सद्भाव र एकताको पहलमा अघि बढ्ने बताए ।

यसैबीच अध्यक्ष अन्सारीले प्रहरीले गर्ने अनुसन्धानमा आफू र आफ्नो पालिकाको पूर्ण साथ रहने बताएका छन् । कुटपिटमा घाइते भएका जीवन मेहताको पक्षले उनीमाथि कुटपिटमा संलग्न अन्सारीका छोरा फैजान अन्सारीलाई कारबाही हुनुपर्ने विषयलाई प्रमुख मुद्दा बनाइरहँदा अध्यक्ष अन्सारीले प्रहरीको निष्पक्ष अनुसन्धानमा आफू बाधक नबन्ने प्रतिक्रिया दिएका हुन् । उनले छानबिन समिति बनाई सबै पक्षलाई मान्य हुनेगरी अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरी प्रशासन समक्ष आग्रहसमेत गरेका छन् ।

यसैबीच इनरुवामा बसेको बजरङ्ग दलको बैठकले अध्यक्षले आफ्ना कुरा राखे पनि पूर्णरूपले आश्वस्त हुने अवस्था नरहेको जनाएको छ ।

उसले अन्सारीका छोरासहितका दोषीलाई पक्राउ गरी सार्वजनिक गरिनु पर्ने र कारबाहीको प्रक्रिया अघि बढाउनु पर्ने, घटनाको जिम्मेवारी र घाइतेहरूको उपचारको जिम्मा लिनुपर्ने माग गरेको छ । साथै दबावका लागि राजेश यादव संयोजक रहेको हिन्दु समाज सङ्घर्ष समितिसमेत गठन गरेको छ । समितिले अर्को बैठक बसी थप निर्णय गर्ने जनाएको छ ।