बेलका नगरपालिकाले आव २०८०/८१ को दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

सार्वजनिक सुनुवाईमा आइतबार प्रशासकीय अधिकृत चेतनाथ गौतमले चालु आवको आयको संक्षिप्त विवरण २०८० साउन १ गतेदेखि चैत्र २० सम्मको वास्तविक आय र खर्चको विवरण प्रस्तुत गरेका थिए ।

नगरले ४३ करोड ९१ लाख ८ सय ९९ रुपैयाँ  वास्तविक आय ५७.६१ प्रतिशत प्राप्त गरेको विवरण अधिकृत गौतमले प्रस्तुत गरे । यस्तै चैत्र २० गतेसम्म ३९.०१ प्रतिशत २९ करोड ६९ लाख ९६ हजार २ सय २८ रुपैयाँ ९९ पैसा खर्च भएको सार्वजनिक गरिएको छ ।

नगरको कुल प्रस्तावित बजेट ७६ करोड १२ लाख ५६ हजार रुपैयाँबाट आय र खर्चको विवरण प्रस्तुत गरिएको हो । अधिकृत गौतमले २४ कार्यपालिका बैठक सम्पन्न गरेको बताए । सार्वजनिक सुनुवाईमा नगरको कार्य सम्पादन मूल्याङ्कन, नगरस्तरीय योजना कार्यान्वयनको अवस्था, वडास्तरीय योजना कार्यान्वयनको अवस्था, शाखागत प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

शिक्षा शाखाका देवचन्द्र तामाङले विद्यालय, विद्यार्थी विवरण, सामान्यीकरण र सशर्ततर्फको प्रगति विवरण, विद्यालय शैक्षिक गुणस्तर सुदृढीकरण तथा कार्यसम्पादनमा आधारित कार्यक्रम विवरण प्रस्तुत गरेका थिए ।

स्वास्थ्य शाखा प्रमुख विनोद मिश्रले स्वास्थ्य संस्था र सेवा सम्बन्धी विवरण, सम्पन्न भएका कार्यक्रम, स्वास्थ्य बिमा, कोभीड, डेङ्गीलगायतका रोगका विवरण, वित्तीय तथा भौतिक प्रगति विवरण प्रस्तुत गरे । नगर अस्पतालका तर्फबाट भूपेन्द्र चौधरीले 
अस्पतालका सेवाहरु र आयव्यय प्रस्तुत गरे ।

कृषि विकास शाखाका इन्जिनियर हिमाल गुरागाईले कार्यक्रम आयोजनाको प्रगति विवरण प्रस्तुत गरे । पशु तथा मत्स्य विकास शाखाका प्रमुख शरण चौलागाईले आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए । नगरका ३३ शाखाले आफ्ना प्रस्तुति तयार गरेका थिए ।

नगरप्रमुख अशोक कार्की, प्रमुख प्रशाकीय अधिकृत पुरुषोत्तम घिमिरे, प्रशासकीय अधिकृत चेतनाथ गौतमले नगरिकका सवालको जवाफ दिएका थिए । शाखागत रुपमा उठेका प्रश्नको जवाफ शाखा प्रमुखहरुले दिएका थिए ।

बेलका मिडिया प्रालिले १५० नागरिकहरुको नमूना सामुदायिक नागरिक प्रतिवेदन फारम मार्फत नागरिकको चासो, सुझाव र गुनासो समेत सङ्कलन गरेको थियो । यस्तै ४६ जनाको बहिर्गमन अभिमत पत्रमार्फत नमुना अभिमत सङ्कलन गरिएको थियो ।

नगारिकको चासो, गुनासो, सुझाव र अभिमतलाई प्रतिकृयाका रुपमा लिंदै नगरले अपनत्व लिने बताए । बेलका नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाईको समन्वय बेलका मिडिया प्रालिले गरेको थियो ।