बेलका नगरपालिकामा जंगल सफारीको औपचारिक उद्घाटन गरिएको छ । पर्यटन व्यवसायी रमन भट्टराईले संचालन गरेको बेलका रिभर बिच रिसोर्टले व्यवसायिक रुपमा जंगल सफारीको सुरुआत गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले औपचारिक कार्यक्रमबीच रिसोर्टदेखि कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्रसम्म संचालन हुने जंगल सफारीको शनिबार उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले हात्तीमैत्री पैदल यात्राले समेत जंगल सफारीको प्रवर्द्धन गरेको बताए । 'यसको प्रचारप्रसार काठमाडौंमा पनि गरौंला, यो बेलका र बराहक्षेत्रको मात्र होइन, यो गाइघाटसम्मको लागि आर्थिक गतिविधिको कोशेढुंगा हुनसक्छ,' मुख्यमन्त्री कार्कीले भने,'काठमाडौंसम्मका मान्छे यही मार्गबाट आउँछन्, यसले वृहत्तर बराहक्षेत्रसँगै विराटनगरसम्मलाई समेट्छ ।'

जंगल सफारीले आर्थिक गतिविधि, सांस्कृतिक र प्राकृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने मुख्यमन्त्री कार्कीले बताए । व्यवसायीले संचालन गरेको निकुञ्ज सफारीलाई कोशी प्रदेश सरकारले कदर गर्दै अपन्त्व ग्रहण गर्ने बताए ।

सफारीको औपचारिक उद्घाटनपछि मुख्यमन्त्री कार्की जंगलसफारीमा निस्किएका छन् । सफारीमा कोसीटप्पु क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता, आरक्षका पदाधिकारीलगायत उपस्थित छन् ।

कोसी विपद मात्र होइन अवसर र सम्भावना: मेयर कार्की

कोसीटप्पु वन्यजन्तु सुनसरी, उदयपुर र सप्तरी जिल्लाका आरक्षले समेट्ने ६ स्थानीय तह छन् । कोसी नदीलाई विपदका रुपमा लिइरहेका बेला यसलाई अवसर र सम्भावनाका रुपमा लिनुपर्ने बताइएको छ ।

बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले कोसी नदी चुनौती र विपदका रुपमा मात्र नभएर अवसर र सम्भावनाका रुपमा विकास गर्न कार्कीले मुख्यमन्त्रीसमक्ष आग्रह गरे । उनले प्रदेश सरकारलाई कोसी नदी क्षेत्रको विकासका लागि योजना बुझाइसकेको बताए ।

जंगल सफारीको उद्घाटन कार्यक्रममा कोसी टप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेनलगायतका सरोकारवालाले कोसीटप्पुलाई पर्यापर्यटनको गन्तव्य निर्माणका लागि जंगल सफारीले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

रिसोर्ट सञ्चालक रमण भट्टराईले सफारी करिब ८२ किलोमिटरको हुने जानकारी दिए । कोसी टप्पुमा अर्ना, विश्वमै लोपोन्मुख मानिएका चरा, निलगाई, हात्तीलगायत जीव पाइन्छन्। 'श्रीलङ्का टापुहुँदै गरिने जङ्गल सफारीले बेलकाको मात्र होइन, छिमेकी बराहक्षेत्र र सप्तकोसी नगरपालिकाको समेत पर्यटन प्रवर्द्धन हुने विश्वास छ', भट्टराईले भने ।

कोसी नदीमा आधारित पर्यटनसँगै अहिले बेलका नगरपालिकामा मनोरञ्जनात्मक, सहासिक पर्यटन, जैविक विविधताको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउने आधारहरु तयार भएको सञ्चालक भट्टराईले बताए  ।