धरान । यही चैत ७ गते धरान उपमहानगरपालिका–१८ स्थित जङ्गलमा घाँटी काटिएको अवस्थामा भेटिएकी सुमना श्रेष्ठको पोष्टमार्टम रिपोर्ट आएको छ ।

उनको हत्या आरोपमा धरान प्रहरीले सुमनाका प्रेमी सविन भनिने बाबुराम भुजेललाई पक्राउ गरिसकेको छ । हाल उनी अनुसन्धानमा रहेका छन् । धरान–१६ की सुमनालाई धारिलो हतियार प्रयोग गरी भुजेलले हत्या गरेको प्रहरीमा स्वीकार गरेका थिए । प्रहरीले पत्रकार सम्मेलन गरेर आरोपितलाई सार्वजनिक गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुमनाको पोष्टमार्टम रिपोर्ट आइसकेको जनाएको छ ।

तर, रिपोर्टमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको भए पनि अन्य शङ्कास्पद गतिविधि नभएको जनाएको छ । यसअघि बलात्कारपछि हत्या भएको आशङ्का गरिएकोमा प्रहरीले त्यस्तो प्रकृतिको रिपोर्ट नआएको जनाएको छ । पोष्टमार्टम रिपोर्टमा हत्यामात्रै खुलेको भने अन्य कुनै पनि गतिविधि नभएको उल्लेख भएको सुनसरी प्रहरीले जनाएको छ । कतिपयले सामूहिक हत्या भएको आशङ्का गरेका थिए ।